© २०२३
पाल्पा, १ माघ ।
माघे सङ्क्रान्तीको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गम स्थल रुरु क्षेत्र धाम रिडीमा धार्मिक मेला लागेको छ ।
रुरु क्षेत्रधाममा पुगेका भक्तजनहरू काली गण्डकी स्नान तथा ह्षिकेश भगवान् तथा हनुमान मन्दिरमा पूजाआजा दर्शन गरेका छन् । माघे सङ्क्रान्तीमा काली गण्डकीमा स्नान गरी ह्षिकेश भगवान्को दर्शन गरेमा अनजानमा गरेका सम्पूर्ण पाप नाश हुने, मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास रहेको पाइन्छ ।
रुरु क्षेत्र धाम आउने धार्मिक भक्तजनहरूको लागि लक्षित गरेर रिडी खोला तथा काली गण्डकी बगरमा तीन वटै जिल्लाका स्थानीय सरकारले धार्मिक मेला सञ्चालन गरेका छन् ।
रुरु क्षेत्रधाममा परम्परादेखि नै काली गण्डकी किनारामा जेठी, माइली र कान्छी सङ्क्रान्तीको रूपमा धार्मिक मेला लाग्दै आएको छ । रुरु क्षेत्र धाम नेपालको चार धाम मध्ये एक भएकोले यसको विशेष धार्मिक महत्त्व रहेको छ ।
काली गण्डकीमा मकर सङ्क्रान्ती स्नानको लागी पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रुपन्देही कपिलवस्तु तथा भारतको उत्तर प्रदेश तथा विहारबाट समेत भक्तजनहरू काली गण्डकीमा स्नान तथा ह्षिकेश भगवानको दर्शनको लागि रुरु क्षेत्र धाम रिडीमा पुगेका छन् । मुस्ताङको दामोदर कुण्ड र मुक्तिनाथ क्षेत्रबाट बग्दै आएको काली गण्डकीलाई हिन्दुधर्मालम्बीहरुले श्रीकृष्ण गण्डकीको रूपमा लिँदै आएका छन् ।
धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पा, मनाङ, मुस्ताङ लगायत हिमाली जिल्लाबाट ल्याएका काम्लो, कम्मल, राडी, पाखी, बिक्रीको लागी राखिएका छन् । स्थानीय रूपमा बासबाट उत्पादित विभिन्न किसिमका सरसामान, डोको नाम्लो, डाला, पाथी, काइँयो किनबेचको स्थल धार्मिक मेला बनेको छ ।
जुम्ला, कालिकोट लगायत जिल्लाबाट ल्याएका ओखर घाँजी जस्ता सरसामान बिक्रीको लागी रुरु क्षेत्रमा मेला लागेको छ । धार्मिक मेलामा गुल्मीको गुड, पाल्पाको सुन्तला बिक्रीको लागि राखिएको छन् ।