Butwal Today

ठग र लुसिफरहरूले युवालाई राष्ट्रविरुद्ध प्रयोग गर्न खोज्दै छन् : ओली

१ माघ २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं, १ माघ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठग र लुसिफरहरूले युवालाई अल्मल्याएर राष्ट्रविरुद्ध प्रयोग गर्न खोजिरहेको टिप्पणी गरेका छन् ।

४२औँ पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले युवाहरू बाटो बिराउन खोजिरहेको बताए । उनले युवाले देश पढ्न, बुझ्न र देशलाई कता लैजान खोजिँदैछ भन्नेबारे जानकारी राख्न आवश्यक रहेको बताए ।

‘नेपालका युवा अलिकति बाटो बिराउन खोजेका छन् । इतिहास तिम्रो आफ्नै आयुबाट नाप्ने प्रयास नगर । इतिहास धेरै लामो छ । देश पढ । देश बुझ । यो देशलाई के गर्न खोजिँदैछ भनेर बुझ्ने प्रयास गर,’ युवालाई सम्बोधन गर्दै ओलीले भने ।

अध्यक्ष ओलीले अहिले विभिन्न प्रकारका ठग र लुसिफरहरूले युवालाई प्रभावित पार्ने प्रयास गरिरहेको उल्लेख गर्दै भने, ‘अहिले सबै प्रकारका ठगहरू, लुसिफरहरूले धाक नलगाए हुन्छ । तिनका सपना पूरा हुने छैनन् ।’ रास्वपा प्रवेश गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति संकेत गर्दै ओलीले आफूसँग चुनाव लड्न भन्दै तामझाम गरिरहेको आरोप पनि लगाए ।

‘कोही–कोही केपी ओलीसँग चुनाव लड्न जान्छु भनेर तामझाम गरेका छन् । हामीले नचिन्ने खालका नोट लिएर निर्वाचन क्षेत्रहरूमा पुगेका छन्,’ उनले भने । आफू निर्वाचन लड्दै आएको झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा बालेन रहेको खबर सार्वजनिक भइरहेका बेला ओलीको यस्तो टिप्पणी आएको हो ।