अर्घाखाँची । अर्घाखाँची महाेत्सवमा स्थानीय उत्पादनहरुले चर्चा कमाएका छन् । स्थानीय स्तरमा उत्पादन गरिएको अर्गानिक कफी, फापर, टिमुर, तीते फापर, कुराैनी, खिर, खुदाे, सुन्तला लगायत ढाकाका सामाग्री महाेत्सवका आकर्षक रहेका छन् ।
अर्घाखाँची अरविका कफी उद्योगले उत्पादन गरेको अर्गानिक कफी, स्थानीय स्तरमा पालेका गाई तथा भैंसीकाे दुधबाट बनेको अर्गानिक कुराैनी, स्थानीय उत्पादन फापर, मालारानी हंसपुरकाे कफी, ढाकाका सामाग्रीहरु, अर्घाखाँचीका सुन्तला, खुदाे, गुण लगायतका बस्तु महाेत्सवका मुख्य आकर्षण रहेकाे चेम्बर अफ कमर्सका अध्यक्ष अशाेक श्रेष्ठले बताए।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले माघ ११ गते सम्म अर्घाखाँची महोत्सव सञ्चालन भएको छ । अर्घाखाँचीलाई व्यावसायिक पर्यटकीय हिसाबले देशविदेशमा चिनाउन, जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुको प्रवद्र्धन गर्नका लागि महोत्सवको आयोजना गरिएको चेम्बर अफ कमर्सका सचिव प्रेम थापाले बताएका छन्।
महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र पाँच करोडको कारोबार हुने अपेक्षा रहेको छ।
सन्धिखर्कको कुँडुले फाँटमा सञ्चालन भएको महोत्सवमा जिल्लामा भएका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्न तथा स्थानीयस्तरमा उत्पादन हुने सुन्तला, कफी तथा अन्य उत्पादित वस्तुको प्रचारप्रसार गर्न महोत्सव महत्वपूर्ण हुने उनले बताए।
पर्यटन भित्र्याउन तथा जिल्लालाई चिनाउनका लागि महोत्सवले भूमिका खेल्ने तथा उत्पादित वस्तुको प्रवर्द्धन गर्न र पर्यटकीय क्षेत्रको प्रचार गर्न महोत्सवले भूमिका खेल्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।