Butwal Today

दाङका धार्मिक तथा पर्यटकीय स्थलमा मेलाको तयारी

३० पुष २०८२, बुधबार
अ+
अ-

दाङ,३० पुस । 

माघे सक्रान्ती अर्थात् माघी पर्वका अवसरमा दाङका धार्मिक तथा पर्यटकीय स्थलमा मेलाको तयारी भएको छ ।

घोराही उपमहानगरपालिका –१३ स्थित  बाह्रकुने ताल (दह) मा माघे मेला लाग्न सुरु भएको छ ।  त्यसै गरी लमही नगरपालिका–९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेलाको तयारी भएको छ ।

यी ठुला धार्मिक र पर्यटकीय स्थलमा प्रत्येक वर्ष मेला लाग्ने गर्दछ त्यसैलाई निरन्तरता दिँदै यस वर्ष पनि दुवै स्थानमा माघी मेला लाग्ने भएको हो । घोराही–१३ सेवारमा रहेको बाह्रकुने दहमा माघी मेला नजिकिएसँगै चहलपहल बढेको छ । बराहक्षेत्र संरक्षण सम्बद्र्धन धार्मिक समितिले मेलाको तयारीलाई तीव्रता दिँदै आएको छ ।

बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष  देवबहादुर घर्ती मगरले माघी पर्वको अवसरमा लाग्ने मेलाको तयारी पुरा भएको बताए । त्यसका लागि विभिन्न उपसमिति बनाएर कामको जिम्मेवारी दिइएको उहाँले जानकारी दिए ।

माघीको दिन बाह्रकुने दहमा स्नान गर्ने भक्तजनका लागि स्नान स्थल बनाइएको उनले बताए । मेलाका लागि विभिन्न स्टलहरू बनाइएका छन् । अचेल मन्दिरमा बिहान ६ देखि ११ बजेसम्म दैनिक पूजा भइरहेको छ ।

मन्दिरमा पूजाका लागि प्युठान,सल्यान, रोल्पा, रुकुम र दाङबाट दैनिक करिब पाँच सय भक्तजन आउने गरेको घर्तीले बताए । यहाँ भेडाको बलि दिइन्छ भने परेवा उडाइन्छ । अवलोकन गर्न आउने पर्यटकलाई मन्दिर परिसर सधैँ खुल्ला रहने गरेको उनले बताए ।

लमही–९ रिहारस्थित धार्मिक एवं पर्यटकीय स्थल बगारबाबा धार्मिक पर्यटन क्षेत्रमा माघीको अवसरमा लाग्ने मेलाको तयारी पुरा भएको छ  ।

बगारबाबा धार्मिक पर्यटन विकास समितिले धार्मिक क्षेत्र सरसफाइ गरेको छ । मन्दिरमा भक्तजनको घुइँचो लाग्ने हुँदा सरसफाइ गरिएको बगारबाबा धार्मिक पर्यटन विकास समिति रिहारले जनाएको छ । यस क्षेत्रमा विशेष गरेर भारतीय पर्यटक आउने गर्दछन् ।

बगारबाबा धार्मिक पर्यटन विकास समिति रिहारका अध्यक्ष रवीन्द्र खत्रीले माघीको समयमा मेला लाग्ने भएकाले मन्दिर परिसर सरसफाइ गरिएको र विभिन्न स्टल बनाइएको बताए  । स्थानीय पर्यटन क्षेत्रको सांस्कृतिक पहिचान संरक्षण गर्न प्रत्येक वर्ष माघको १ गते मेला लाग्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिइने बताए ।

माघीको दिनमा आउने भक्तजनलाई न्यानोका लागि ठाउँ ठाउँमा आगो बाल्ने व्यवस्था गरिएको उनले बताए । शौचालय खानेपानी जस्ता आधारभूत कुराको व्यवस्थापन गरिएको बताए ।

रिहारमा रहेको तप्त कुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङलगायत भारतबाट पनि भक्तजन आउने गर्दछन् । यस ठाउँमा पुसको २५ गतेदेखि चहलपहल सुरु भई माघको ३ गतेसम्म मेला लाग्ने गर्दछ ।

थारु समुदायको माघीसँगै लाग्ने यो मेलामा विशेष गरी मामा भान्जी मन्दिर, तप्त कुण्ड (तातोपानी) पोखरी, घिउ पोखिएको स्थानलाई पवित्र स्थान मानी पूजा गर्ने चलन रहेको पुजारी हीरालाल बाबाले जानकारी दिए । रिहार धाम यादव र थारु जाती दुवैको धरोहर हो ।

लमही बजारबाट पच्चीस किलोमिटरको दूरीमा पर्ने रिहार मेलामा साना र ठुला गरी एक दर्जन मन्दिर रहेका छन् । विभिन्न स्थानीय सामग्रीहरू किनमेलका लागि हजारौँको सङ्ख्यामा भक्तजन आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?