© २०२३
काठमाडौँ ।
ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले यदि आफूहरूलाई कुनै एक रोज्न बाध्य पारियो भने अमेरिकाको सट्टा डेनमार्क रोज्ने स्पष्ट अभिव्यक्ति दिएका छन् ।
डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनसँगको संयुक्त पत्रकार सम्मेलनमा निल्सनले दिएको यो अभिव्यक्ति अहिलेसम्मकै कडा प्रतिक्रिया मानिएको छ । पत्रकार सम्मेलनमा उनले भने, ‘यदि हामीले अमेरिका र डेनमार्कमध्ये एक रोज्नुपर्यो भने यहीँ र अहिले हामी डेनमार्क रोज्नेछौँ ।’
उनले थपे, ‘एउटा कुरामा सबै स्पष्ट हुनुपर्छ ग्रिनल्यान्ड अमेरिकाको शासनमा रहन चाहँदैन, न त अमेरिकाको हिस्सा बन्न चाहन्छ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने योजना बनाइरहेको खबर सार्वजनिक भइरहेका बेला ग्रिनल्यान्डका प्रधानमन्त्री निल्सनले बरु डेनमार्कसँग रहन तयार रहेको प्रतिक्रिया दिएका हुन् ।
केही दिनअघि मात्रै राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्ड अमेरिकाले कब्जा नगरे रुस र चीनको नियन्त्रणमा जान सक्ने दाबी गरेका थिए । यसै कारण ग्रिनल्यान्डको स्वामित्व अमेरिकाले लिनैपर्ने बाध्यता रहेको जिकिर उनले गर्दै आएका छन् ।
ग्रिनल्यान्ड डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र हो र यसको आफ्नै सरकार रहेको छ । यसैबीच, नेटोको सदस्य राष्ट्र डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले अमेरिकाले ग्रिनल्यान्डमा बल प्रयोग गरे नेटो नै भंग हुन सक्ने चेतावनी दिएकी छन् ।