© 2026
काठमाडौँ। नेपाली कांग्रेस आधिकारिक रूपमै विभाजन भएको छ। विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय र सह-महामन्त्रीलाई कारबाही गर्ने केन्द्रीय समितिको निर्णयसँगै कांग्रेस विभाजन भएको हो।
नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सह-महामन्त्री फर्मुल्लाह मन्सुरलाई ५ वर्षका लागि निष्कासन गरेको थियो। लगातार सहमतिका लागि लचकता प्रदर्शन गर्दा-गर्दै पनि नेताहरूलाई कारबाही गरिएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए।
“आज बजेको केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न आरोप लगाउँदै उहाँहरूलाई कारबाही गर्ने निर्णय गरेको छ। पार्टी फुटाउन संस्थापन पक्ष सक्रिय देखियो,” शिवाकोटीले भने।
केन्द्रीय समितिको निर्णय विपरीत विशेष महाधिवेशन बोलाएको लगायत आरोप लगाउँदै केन्द्रीय समितिले कारबाही गरेको थियो। विभाजनअघि पटक-पटक संस्थापन पक्ष र विशेष पक्षबीच वार्ता भएका थिए। तर, ती कुनै वार्ता फलदायी भएनन्।
“वार्ताका लागि पटकपटक लचकता प्रदर्शन गर्ने र पार्टी एकताका लागि अन्तिमसम्म प्रतीक्षा गरिरहँदा पनि सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कारबाही गरेपछि विशेष महाधिवेशन पक्षधर नयाँ कार्यसमिति गठन गर्ने बाध्यकारी अवस्थामा पुगेका छन्,” शिवाकोटीले भने।
देशभरिबाट आएका ६३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नुपर्ने दबाब दिएको दाबी विशेष महाधिवेशन पक्षको छ। वार्तालाई बेवास्ता गर्दै देउवा पक्षले असहिष्णु व्यवहार गरेपछि विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति गठन गर्ने तयारी गरेको छ। काठमाडौँको भृकुटीमण्डपमा २७ पुसदेखि भइरहेको विशेष महाधिवेशनअन्तर्गत अहिले सर्वसम्मत नयाँ कार्यसमिति गठन गर्ने गृहकार्य भइरहेको छ।
विशेष पक्षले कार्यकारी भूमिकाबाट सभापति देउवा बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने, चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने, निर्वाचनकेन्द्रित हुनका लागि पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीका रूपमा ग्रहण गर्नुपर्ने माग राखेका थिए।