Butwal Today

भैरहवाबाट काठमाडौं उडान गर्ने जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि…

३० पुष २०८२, बुधबार
अ+
अ-

बुटवल। भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडानबाट काठमाडौं उडान भर्न लागेको बुद्ध एयरको जहाजमा एकजना यात्रुले आपत्कालीन ढोका खोलेपछि उडान ढिलो भएको छ।

उडान भर्ने तयारीमा रहेका बेला यात्रु सुमन गौतमले आपतकालीन ढोका खोलेपछि उडान केहीबेर रोकिएको थियो। गौतमलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको बुद्ध एयरले जनाएको छ।

विमानमा रहेको आपतकालीन ढोका आपतकालीन अवस्थामा मात्रै खोल्ने कानुनी व्यवस्था हुन्छ। आपतकालिन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन्।

तर आपतकालिन अवस्थाबाहेक ढोका खोल्न नमिल्ने र यसले उडान सुरक्षामै खलल पुर्‍याउने सम्भावना रहन्छ। हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५ ले कसुरको प्रकृतिअनुसार १ देखि ३ वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय तोकेको छ ।

बुद्ध एयरले एक सूचना प्रकाशित गर्दै भनेको छ –

यात्रुले आपत्कालीन ढोका खोल्दा उडान ढिला !

आज भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. 852 (जहाज 9N-AMD) मा यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपत्कालीन ढोका (Emergency Door) खोलेका कारण उक्त उडान ढिलो हुन गएको जानकारी गराउँदछौं । 
उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ । हवाई सुरक्षा मापदण्डअनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली (Technical Team) भैरहवा प्रस्थान गरिसकेको छ । पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्नेछ । नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालीन ढोका बिनाकारण खोल्नु गम्भीर कानुनी अपराध हो । यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।