Butwal Today

टोपबहादुर रायमाझी थुनामै रहे पनि चुनाव लड्ने

२९ पुष २०८२, मंगलवार
अ+
अ-

बुटवल  ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी आगामी प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट उम्मेदवारी दिने तयारीमा रहेका छन् ।

एमालेबाट टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने विकल्पमा समेत उनी अघि बढेको पारिवारिक स्रोतले जनाएको छ । रायमाझी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काङ्ग्रेसकी पुष्पा भुसाललाई पराजित गर्दै निर्वाचित भएका थिए ।

तर नक्कली भुटानी शरणार्थी सम्बन्धी मुद्दामा पक्राउ परेपछि उनी विगत तीन वर्षदेखि थुनामा छन् । रायमाझीलाई गैर कानुनी रूपमा थुनामा राखिएको परिवारको दाबी छ । यस अवधिमा अर्घाखाँची जिल्ला प्रतिनिधिसभा सदस्यविहीन रहँदै आएको छ ।

पारिवारिक स्रोतका अनुसार सोही प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाण थुनामुक्त भइसके पनि रायमाझीलाई अझै थुनामै राखिनु राजनीतिक प्रतिशोधको परिणाम हो ।

“उहाँमाथि अन्यायपूर्ण व्यवहार भइरहेको छ, एउटै मुद्दामा फरक–फरक व्यवहार हुनु स्वाभाविक होइन,” रायमाझीका छोरा सन्दीप रायमाझीले भने ।

उनका अनुसार रायमाझीले सकेसम्म पार्टीबाटै टिकट लिएर निर्वाचनमा जाने प्रयास गरिरहेका छन् । “एमालेकै उम्मेदवारका रूपमा चुनाव लड्ने प्राथमिकता छ, तर परिस्थिति अनुसार स्वतन्त्र विकल्प पनि खुला राखिएको छ,” सन्दीप रायमाझीले भने ।

पारिवारिक स्रोतका अनुसार रायमाझी थुनामै रहेर पनि अर्घाखाँचीका जनताबाट परीक्षण हुन चाहेका छन् । “म अर्घाखाँचीका जनताबाट थुनामै रहेर पनि परीक्षण हुन चाहन्छु, त्यसका लागि वारेसनामा मार्फत उम्मेदवारी दिने तयारी गरेको छु”–रायमाझीको भनाइ उद्धृत गर्दै पारिवारिक स्रोतले भन्यो ।

राजनीतिक रूपमा प्रभावशाली रायमाझीको उम्मेदवारी तयारीले अर्घाखाँचीको राजनीतिक माहौल पुनः तातेको छ ।