© 2026
सल्यान, २९ पुस ।
सल्यानको कालीमाटी गाउँपालिकामा एक साता नबित्दै बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । यस क्षेत्रमा लगातार बाघ आक्रमणका घटना बढ्दै गएका छन् भने कालीमाटी गाउँपालिकाले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ ।
वडा नम्बर–६ हात्तिढुंगामा बाघको आक्रमणबाट थप एक वृद्ध पुरुषको मृत्यु भएको हो । मृतक सोही स्थानका करिब ६५ वर्षीय चन्द्र बहादुर खप्पतडी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यस अघि गएको शुक्रबार वडा नम्बर-७ घुइयाबारी स्थित पर्सेनिमा ४२ वर्षीया धनसरी रावतको पनि बाघको आक्रमणबाट ज्यान गएको थियो ।
सोमबार दिउँसो करिब १२:०० बजे आफ्नै घरबाट करिब तीन सय मिटर टाढा रहेको घट्टमा पिठो पिस्न गएका चन्द्र बहादुर साँझसम्म पनि घर नफर्किएपछि स्थानीयले बाघले आक्रमण गरेको आशङ्का गरेका थिए ।
मंगलबार गते बिहान स्थानीयवासीले प्रहरी चौकी घुईयाबारीमा जानकारी गराएपछि खोजतलास सुरु गरिएको थियो ।
खोजतलासको क्रममा मंगलबार बिहान ११:२० बजे घरदेखि करिब दुई किलोमिटर उत्तर पूर्वतर्फ पर्ने शान्ति सामुदायिक वन क्षेत्रमा चन्द्र बहादुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जानकारी दिएको छ । शरीरको आधा भन्दा बढी भाग बाघले खाइसकेको अवस्थामा शव फेला परेको थियो ।
लगातार बाघ आक्रमणका घटना बढ्दै जाँदा स्थानीयवासी त्रसित बनेका छन् । वन क्षेत्रमा घाँस, दाउरा तथा दैनिक कामका लागि जान समेत डर लाग्ने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ ।
यसैबिच कालीमाटी गाउँपालिकाले वडा नं. ७ र ६ आसपासका क्षेत्रमा पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको निरन्तर आक्रमणका कारण निर्दोष नागरिकहरूले अकालमा ज्यान गुमाउनु परेको घटनाप्रति ध्यानाकर्षण गराएको छ ।
मंगलबार गाउँपालिका अध्यक्ष दान बहादुर केसीले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा वन्यजन्तु आरक्षण स्थापना भएपश्चात् बस्ती नजिकैसम्म वन्यजन्तुको आवागमन बढ्दै जानु, दिनानुदिन आक्रमणका घटनाहरू दोहोरिनु र त्यसबाट मानवीय क्षति हुनु अत्यन्तै गम्भीर विषय रहेको उल्लेख गरेका हुन् ।
नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको अवस्थामा समेत सुरक्षा व्यवस्था कमजोर रहनु चिन्ताजनक र दुःखद रहेको अध्यक्ष केसीको भनाइ छ ।
“यस प्रकारका घटनाले स्थानीय नागरिकहरू सधैँ त्रास भय र असुरक्षाको अनुभूति गर्न बाध्य भएका छन् । त्यसैले नागरिकको जीवन सुरक्षालाई सर्वोपरि मानी तत्काल प्रभावकारी तथा दीर्घकालीन समाधानका उपायहरू अवलम्बन गर्न अत्यावश्यक देखिन्छ”, जारी विज्ञप्तिमा भनिएको छ ।
नेपाल सरकार, प्रदेश सरकार तथा बाँके राष्ट्रिय निकुञ्जको सम्बन्धित निकायलाई यस विषयमा अत्यन्त गम्भीर रूपमा लिई वन्यजन्तु नियन्त्रण, सुरक्षित बस्ती व्यवस्थापन, प्रभावकारी सुरक्षा संयन्त्रको स्थापना तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन पनि कालीमाटी गाउँपालिकाले ध्यानाकर्षण गराएको छ ।
साथै गाउँपालिकाले वन्यजन्तु आक्रमणबाट बच्नको लागि नागरिकहरूलाई जङ्गल प्रवेश गर्दा सावधानी अपनाउन, सम्भव भएसम्म समूहमा मात्र आवत-जावत गर्न अपिल गर्दै पीडित परिवारलाई क्षतिपूर्ति, राहत तथा आवश्यक सहयोगको व्यवस्था गर्ने जनाएको छ ।