© 2026
काठमाडौं, २८ पुस ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् ।
जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् ।
प्रतिज्ञामा पार्टी एकता जोगाउने, स्वच्छ तथा नैतिक आचरणमा जीवन बिताउने लगायतका विषय समावेश छन् । साथै सबै प्रकारका प्रतिक्रियावादी शक्ति, गलत विचार र व्यवहारका विरुद्ध दृढतापूर्वक संघर्ष गर्ने प्रतिज्ञा पनि गरिएको छ ।
तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो । नवगठित पार्टीका केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।
शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गरेका छन् । अब उनीहरूले अन्य केन्द्रीय सदस्यहरूलाई शपथ गराउने तयारीमा छन् । कुल २४९९ केन्द्रीय सदस्यलाई शपथ गराउने योजना बनाइएको छ ।