Butwal Today

नेप्सेमा सामान्य सुधार, कारोबार रकम झण्डै ७ अर्ब पुग्यो

२९ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार सामान्य अङ्कले बढेर बन्द भएको छ । नेप्से सूचक आज ४.९० अङ्कले वृद्धि भई २६३९.९१ विन्दुमा पुगेको छ ।

आज बजारमा ३४९ वटा कम्पनीका कुल ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा १ करोड ३६ लाख २४ हजार कित्ता सेयर ७७ पटक किनबेच भएका छन् ।

आज कारोबार भएका कम्पनीहरूमध्ये ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको देखिन्छ ।

आज थ्रिस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । यस्तै, दोर्दी खोला जलविद्युत ९.३८ प्रतिशत र सुपर मादी हाइड्रपावर ९.०७ प्रतिशतले बढेका छन् ।

घट्ने कम्पनीहरूमा रसुवागढी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी ६.०९ प्रतिशतले ओरालो लागेको छ । त्यस्तै, नारायणी विकास बैंक ४.४४ प्रतिशत र विन नेपाल लघुवित्त ३.७७ प्रतिशतले घटेका छन् ।

आज बजारमा हाइड्रोसहित सात समूहमा वृद्धि भएको छ, जबकि बाँकी छ समूह घटेका छन् । हाइड्रो समूह १.०२ प्रतिशतले बढेको बाहेक अरू समूहमा सबैभन्दा बढी उतारचढाव एक प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमको आधारमा आज राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो । यसको ५४ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसैगरी, एसवाई प्यानल ३४ करोड ८१ लाख र बुटवल पावर कम्पनी २८ करोड १३ लाख रुपैयाँको कारोबारका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।