© 2026
चन्द्रौटा, २९ पुस ।
थारु कल्याण कारिणी सभाका केन्द्रीय सदस्य उमाशङ्कर थारुले माघीसँगै थारु समुदायको नयाँ वर्ष प्रारम्भ हुने बताएका छन् ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर–४, बुद्धि तालमा सोमबार भएको एक पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।महोत्सवमा थारु खानाका परिकार, झुमरा नृत्य, झर्रा झाँकीसहित विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने उनले बताए ।
पछिल्ला वर्षहरूमा माघी पर्वमा विभिन्न विकृतिहरू भित्रिएको भन्दै त्यसलाई नियन्त्रण गरिएको थारुले बताए । यस वर्ष मौलिक थारु संस्कृति झल्किने कार्यक्रमहरूलाई प्राथमिकता दिइएको उनको दाबी छ । ‘पहिले विभिन्न भोजपुरी गीतहरू बज्ने गर्थे, अब यस वर्ष त्यसलाई न्यूनीकरण गर्दै थारु गीत–सङ्गीतलाई प्राथमिकता दिनेछौँ- थारुले भने ।
यस्तै थारू कल्याणकारिणी सभा (थाकस) का कपिलवस्तुका जिल्ला सभापति पवनकुमार थारुले थारु संस्कृति, परम्परा र पहिचान संरक्षणका लागि यस्ता महोत्सवहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले भने, “थारु समुदायको मौलिक संस्कृति, भाषा, भेष भूषा, नाचगान र परम्परागत खानपानलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न महोत्सवजस्ता कार्यक्रम अत्यन्त आवश्यक छन् । यस्ता कार्यक्रमले समुदायभित्र एकता बढाउनुका साथै बाह्य समुदायलाई पनि थारु संस्कृतिबारे जानकारी गराउने अवसर प्रदान गर्छन् ।”
थारु कल्याण कारिणी सभा बुद्ध भूमि नगर समितिका उपसभापति सुशील कुमार थारुले थारु संस्कृति, परम्परा र पहिचान संरक्षणका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले स्थानीय सरकार, सामाजिक सङ्घसंस्था र युवाहरूको सक्रिय सहभागिताले मात्र संस्कृति संरक्षण दिगो बन्ने उल्लेख गर्दै, यस्ता महोत्सवलाई निरन्तरता दिन सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
थाकस बुद्ध भूमि नगर सचिव जगदीश प्रसाद थारुका अनुसार नगर समितिको आयोजना र थारु सांस्कृतिक संरक्षण समितिको सह आयोजनामा महोत्सव हुन लागेको हो । पौष २९ देखि माघ १ गतेसम्म बुड्ढी तालमा सञ्चालन हुने ८औँ नगर स्तरीय माघी (खिचडी) महोत्सव तयारी पूरा भएको छ ।