© 2026
काठमाडौँ ।
अमेरिकाका अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध सम्भावित हमलाका लागि विभिन्न प्रकारका गुप्तचर तथा सैन्य विकल्पहरूको जानकारी गराएका छन् ।
यो जानकारी अमेरिकाको रक्षा मन्त्रालयका दुई अधिकारीले दिएको सीबीएस न्युजले उल्लेख गरेको छ ।
स्रोतका अनुसार, इरानमा हस्तक्षेपका लागि लामो दूरीको क्षेप्यास्त्र एक विकल्प बनेको छ, तर अधिकारीहरूले साइबर अपरेसन र मनोवैज्ञानिक अभियानका विकल्प पनि प्रस्ताव गरेका छन् ।
इरानबारे छलफल गर्न मंगलबार ह्वाइट हाउसमा ट्रम्पको राष्ट्रिय सुरक्षा टोलीको बैठक बस्ने भएको स्रोतले जनाएको छ । तर बैठकमा राष्ट्रपति ट्रम्प आफैँ उपस्थित हुने कि नहुने भन्ने कुरा अझै स्पष्ट भएको छैन ।
सोमबार राति मात्र ट्रम्पले इरानसँग व्यापार सम्बन्ध भएका देशहरूविरुद्ध २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका छन् ।
यसअघि उनले इरानमा जारी सरकारविरोधी प्रदर्शनबीच त्यहाँको परिस्थितिका लागि ‘बलियो विकल्प’ विचार गरिरहेको बताएका थिए ।
त्यसैबिच, इरानका विदेशमन्त्री अब्बास अराघचीले भने आफ्नो मुलुक अमेरिकासँग वार्ता वा युद्ध दुवैका लागि तयार रहेको बताएका छन् ।
इरानमा बढ्दो महँगी र कमजोर आर्थिक अवस्थाविरुद्ध गत डिसेम्बर २८ देखि जनप्रदर्शन जारी छ । प्रदर्शनका क्रममा ठाउँठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको छ ।
जारी प्रदर्शनमा अहिलेसम्म ५९९ जनाको मृत्यु भइसकेको छ, जसको जानकारी इरानस्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले दिएको छ ।