© २०२३
काठमाडौं, २८ पुस ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमाअन्तर्गतको सेवा बन्द गर्ने निर्णय गरेको छ । अस्पताल प्रशासनका अनुसार आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गरिनेछ ।
अस्पतालले जनाएको अनुसार विगत लामो समयदेखि स्वास्थ्य बीमा बोर्डले दाबी भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था धरासायी बनेको छ । हाल बीमा बोर्डले अस्पताललाई करिब ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ ।
अस्पतालले मासिक करिब ५ करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएको भए पनि बीमा बोर्डबाट जम्मा ५० प्रतिशत मात्र दाबी स्वीकृत हुने गरेकोले थप समस्या उत्पन्न भएको जनाएको छ ।
अस्पतालका अनुसार उपचार दररेटमा बीमा बोर्ड र अस्पतालबीच ठूलो अन्तर रहेको छ । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको अस्पतालको गुनासो छ ।
‘विगत दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोतबाट दैनिक खर्च धान्दै आएको अस्पतालले अब थप घाटा व्यहोरेर बीमाको सेवा दिन सक्दैन’, सूचनामा उल्लेख गरिएको छ ।
अस्पतालले विभिन्न आर्थिक वर्षमा दाबी गरेको रकमको ठूलो हिस्सा अझै भुक्तानी हुन बाँकी रहेको सूचना अधिकारी डा. गोपाल सेढाईंले जानकारी दिए ।
‘भुक्तानी अभावका कारण अस्पतालको आन्तरिक स्रोतबाट खर्च धान्न कठिनाइ भइरहेको छ । औषधि तथा स्वास्थ्य सामग्री आपूर्तिकर्तालाई समेत पाँच महिनादेखि भुक्तानी दिन सकिएको छैन’, डा. सेढाईंले भने, ‘घाटा नै खाएर सेवा दिन नसकिने भएपछि सेवा बन्द गर्ने निर्णयमा पुगेका हौं ।’
स्वास्थ्य बीमा बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ ।
लामो समयदेखि बिमितको उपचार गरेवापतको रकम नपाएपछि विभिन्न अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम केही हप्ताभित्रै बन्द गर्ने चेतावनी दिँदै आएका छन् ।
यस अवस्थाले बिमित नागरिक सेवा बाट वञ्चित हुने जोखिम बढ्नुका साथै स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने खतरा देखिएको छ ।
स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गरेवापत अस्पतालले दाबी गरेपछि स्वास्थ्य बीमा बोर्डले भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर सरकारबाट पर्याप्त अनुदान नपाउँदा बोर्डले सेवा प्रदायक संस्थालाई समयमै भुक्तानी दिन नसकेको जनाएको छ ।