© २०२३
पाल्पा । निस्दी गाउँपालिका मित्याल पाल्पाका व्यापारी दुर्गा बहादुर श्रेष्ठले यस पटक माघे संक्रान्तिलाई लक्षित गरि काठमाडौको कालीमाटीका व्यापारीलाई १८ लाखको तरुल पठाए । प्रति धार्नी २ सय रुपैयाँका दरले पाल्पाको तरुल काठमाडौं पुग्यो ।
काठमाडौ चितवन, पोखराका व्यापारीलाई तरुल पठाउने उनी एक्लो होइनन् उनीसँगै दर्जन भन्दा बढी व्यापारीले ज्यामिरे, अचैले, झिरुवासका किसानले उत्पादन गरेको तरुल संकलन गरी बजार पठाउने गर्दछन् ।
कन्दमुल खाने पर्वका रुपमा लिइने माघे संक्रान्तिलाई लक्षित गरेर किसानले तरुल खनेेर बिक्री गर्ने गरेको स्थानीय सन्त बहादुर सुनारी बताउँछन् । बारीको कान्लामा खेती गरिने तरुलबाट एक सिजनमा एक परिवारले कम्तीमा २५ देखि ८० हजार रुपैयाँसम्मको बिक्री गर्छन् ।
“पहिले गाउँमा गाडी गुड्ने सडक थिएन, डोकोमा बोकेर बजारसम्म लैजानुपर्थ्यो, अहिले गाडी आउने सडक बन्यो, खरिद गर्ने व्यक्ति घरै घरै आउँछन् । बारीको कान्लामा लगाएको २० ठाउँ खन्दा १२ क्विन्टल तरुल निस्कियो ६० रुपैयाँ प्रतिकिलोको दरले बिक्री गर्दा ६८ हजार रुपैयाँ हात पर्यो । त्यसैबाट वर्षभरिका लागि चामल ल्याएँ,”–स्थानीय दल बहादुर दर्लामी बताउँछन् ।
ज्यामिरेकी ५२ वर्षिया लाल कुमारी नेपालीले २ दिन खनेको तरुलले एक वर्षलाई पुग्ने चामल, तोरीको तेल खरिद गरेको बताइन् । “उत्पादन गर्न सक्यो भने बजारको दु.ख छैन । खाडल खन्यो, एक डोको मल राख्यो, त्यसको माथिको टुप्पो छोप्यो, अर्को साल एक बीऊबाट एक डोको उत्पादन लिन सकिन्छ, अहिले सबैजसोले खेती गर्न थाले,”–उनले भनिन्–“न गोडमेलको दुःख, न सिंचाई गर्नपर्ने, यो एकदमै सजिलो बाली हो ।”
पाल्पाकै अर्को गाउँ पूर्वखोला सिलुवाका मान बहादुर वयम्वु भन्छन्–“पहिले भारतका व्यापारी गाउँगाउँ आउँथे, पिडालु र तरुल लैजान्थे, अहिले हामीले देशभित्रै राम्रो मूल्य पाइरहेका छौं ।”
व्यवस्थित रुपमा खेती सकिए सिलुवामा मात्र वर्षमा एक करोड रुपैयाँ भित्रिने उनको तर्क छ । तिनाउ गाउँपालिका कचलकी खुमिसरा दर्लामी भन्छिन्–“बारीको तरुल बिक्री गरेर परिवारको लागि लगाउने कपडा किन्ने गर्छु, एक पटकमा २५ हजार रुपैयाँसम्मको बिक्री हुन्छ, वर्षमा ३ पटकसम्म बेच्ने गरी फल्छ, कार्तिकमा प्रति किलो १ सय रुपैयाँमा १० क्विन्टल बिक्री गरेँ, अहिले ४० देखि ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।”
तिनाउ गाउँपालिका मस्यामका कर्ण बहादुर कार्की बँदेल र दुम्सीबाट जोगाउन सकेमा राम्रो आम्दानी हुने बताउँछन् । सरकारी स्तरबाट बजारीकरण र किसानलाई प्रोत्साहन गरेमा वार्षिक एक अर्ब रुपैयाँसम्म उत्पादन हुनसक्ने कृषिसम्बन्धी अध्येता सुर्य गौतम बताउँछन् ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मनिषा पौडेलले उत्पादन राम्रो भएको र आगामी वर्षदेखि किसानलाई थप प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको बताउँछिन् ।