© 2026
काठमाडौँ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले एकलौटी रूपमा विशेष महाधिवेशनको कार्यविधि पारित गरेको भन्दै आपत्ति जनाएका छन् ।
संस्थापन पक्षको बहिष्कारका बीच पारित गरिएको उक्त कार्यविधि विधानविपरीत भएको दाबी गर्दै उनले पार्टी एकता जोगाउने जिम्मेवारी अब असन्तुष्ट पक्षकै हातमा रहेको बताएका छन् ।
प्रवक्ता महतले गगन–विश्वप्रकाश समूहको पछिल्लो कदम पार्टीको विधान र प्रक्रियाविपरीत भएको टिप्पणी गरे । उनले हाल अघि बढाइएको भनिएको कार्यविधि र प्रक्रियामा विधि र विधान केही पनि नमिलेको जिकिर गरे ।
संस्थापन पक्षसँग भइरहेको अनौपचारिक वार्तालाई बेवास्ता गर्दै अर्को पक्षले एकलौटी निर्णय गरेको उनको आरोप छ ।
‘हामीहरू अनौपचारिक रूपमा वार्ता गरिरहेका थियौँ, तर उहाँहरूले त्यसलाई उल्लङ्घन गर्नुभयो,’ महतले भने, ‘पार्टीलाई एकताबद्ध राख्ने कि नराख्ने भन्ने कुरा अब उहाँहरूकै हातमा छ ।’
उनले विशेष महाधिवेशनका नाममा गरिएका निर्णयहरूलाई संस्थापन पक्षले सहजै स्वीकार नगर्ने संकेत गर्दै इतर पक्षको आगामी कदम हेरेर आफूहरू पनि सोहीअनुसार अघि बढ्ने चेतावनी दिए ।