© 2026
बुटवल, २८ पुस ।
ब्रिज एडिटिभ्सको सहकार्यमा रोटरी क्लब अफ बुटवल चौतारीले समुदायमा नैतिक मूल्य र जिम्मेवार आचरण प्रवर्द्धन गर्ने उद्देश्यसहित रोटरी फोर–वे टेस्टका ५०० वटा आकर्षक फ्रेम गरिएका बोर्डहरू वितरण गरेको छ ।
रोटरी फोर–वे टेस्ट व्यक्तिगत, व्यावसायिक तथा सामाजिक जीवनमा सत्यता, निष्पक्षता, सद्भाव र सबैका लागि लाभदायक व्यवहारलाई मार्गदर्शन गर्ने विश्व प्रसिद्ध नैतिक आचारसंहिता हो ।
समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले दैनिक जीवनमा सहज रूपमा अवलम्बन गर्न सकुन् भन्ने उद्देश्यले बोर्डहरू सार्वजनिक स्थल, कार्यालय तथा समुदायमा शनिबार वितरण गरिएको क्लबले जनाएको छ ।
कार्यक्रमका अवसरमा रोटरी क्लब अफ बुटवल चौतारीका निवर्तमान अध्यक्ष एवं वर्ष २०२६÷२७ का असाइन एजी नुमेन्द्र पौडेलले रोटरी फोर–वे टेस्ट केवल पाठ्य वस्तु नभई व्यवहारमा उतार्नुपर्ने जीवन दर्शन भएको बताए ।

उनले भने, “आजको प्रतिस्पर्धात्मक समाजमा नैतिक मूल्य कमजोर बन्दै गएका छन् । फोर–वे टेस्टले सत्य र न्यायको बाटो देखाउँदै व्यक्तिगत सफलतासँगै सामाजिक हित सुनिश्चित गर्छ । यसलाई घर, कार्यस्थल र सार्वजनिक जीवनमा आत्मसात् गर्न सके समाज सकारात्मक दिशातर्फ अघि बढ्छ ।”
पौडेलले “स्वार्थभन्दा माथि सेवा” भन्ने रोटरीको मूल मन्त्रअनुसार क्लबले निरन्तर समाजमा इमानदारी, उत्तरदायित्व र नैतिक नेतृत्व प्रवर्द्धन गर्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गरे । ब्रिज एडिटिभ्सको सहकार्यले यस्तो अभियानलाई थप प्रभावकारी बनाएको उनको भनाइ थियो ।
क्लबले यस पहलले दीर्घकालीन रूपमा समुदायमा नैतिक संस्कार मजबुत बनाउने र भावी पुस्तामा सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।