© 2026
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवेदन पेश गरेका छन्। उनले आफूले पेस गर्ने प्रतिवेदनलाई ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस सद्भाव, सुशासन र समुन्नत नवीन यात्रा’ नाम दिएका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीमा दुई कार्यकालको सीमा राख्न प्रस्ताव राखेका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रमा उनले कुनै पनि पार्टीको तर्फबाट एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने नीति लिन प्रस्ताव गरेका हुन्।
त्यस्तै आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने पनि उनको प्रस्तावमा उल्लेख छ। राजनीतिक नियुक्तिहरूमा इमानदारीता र योग्यता प्रणाली लागु गर्ने उनको प्रतिवेदनमा समेटिएको छ। पार्टीको सम्पूर्ण ध्यान सद्भाव, सुशासन र समुन्नति स्थापनामा केन्द्रीत गर्ने उल्लेख छ।
शर्माले राखेको प्रस्तावमा ४० वर्ष मुनिका युवाहरूलाई पार्टीका विभिन्न तहमा प्रतिनिधित्व गराउन प्रस्ताव गरिएको छ। जस अनुसार केन्द्रीय कार्यसमितिको केन्द्रीय तहमा ३० वर्ष मुनिका २० जना र ३० देखि ४० वर्ष सम्मका २० जना गरी कुल ४० जना युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिने प्रस्ताव छ । प्रदेश कार्यसमितितर्फ दुवै उमेर समूह (३० मुनि र ३०-४०) बाट १०-१० जना गरी कुल २० जना युवाको प्रतिनिधित्व रहनेछ ।
जिल्ला, संघीय क्षेत्र, प्रदेश सभा क्षेत्र र पालिका कार्यसमितिमा न्यूनतम ६-६ जना (कुल १२ जना) युवाहरू रहने व्यवस्था छ । वडा तहमा न्यूनतम ४-४ जना (कुल ८ जना) युवाहरूको प्रतिनिधित्व हुनेछ । महाधिवेशन प्रतिनिधिहरु पनि प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट गर्दा कम्तीमा २ महिला र कम्तीमा १ जना ३० वर्ष मुनिको व्यक्ति पर्ने गरी कुल ४ जना प्रतिनिधि छनोट गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
शर्माले भदौ २३ र २४ गते भएका दुवै दिनको घटनाको निष्पक्ष अनुसन्धान र कारबाहीको विषयमा सबैले स्पष्ट रूपमा प्रतिबद्ध रहेर प्रक्रियालाई इमानदार ढङ्गले सघाउनुपर्ने बताएका छन् । शर्माले ती दुवै घटनालाई निष्पक्ष छानबिन गरी कारबाही नभए भविष्यमा फेरि देश द्वन्द्वमा फस्न सक्ने उनले स्पष्ट पारेका छन् ।
‘कसैले भदौ २४ को आगजनीको कुरा गर्ने २३ गते अबोध युवाहरू मारिएको घटनालाई दोस्रो प्राथमिकता राख्ने, कसैले भदौ २३ को घटना सम्झिने तर २४ गतेको ध्वंसलाई बिर्सने । यो प्रवृत्तिले हामीलाई फेरि द्वन्द्वमा धकेल्न सक्छ । अत भदौ २३ र २४ दुवै दिनको घटनाको निष्पक्ष अनुसन्धान र कारबाहीको विषयमा हामी सबैथरी स्पष्ट रूपले प्रतिबद्ध रहेर प्रक्रियालाई इमानदार ढङ्गले सघाउनु पर्दछ’, प्रतिवेदनमा भनिएको छ ।
२०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह गरिरहँदा कतिपय ठाउँमा बम विस्फोट भएपछि पार्टीले सम्पूर्ण सत्याग्रह स्थगित गरेको स्मरण गर्दै शर्माले इतिहासको त्यो एक उच्चतम नैतिक प्रस्तुति भएको प्रतिवेदनमा भनिएको छ । जेनजीले आफूले प्रदर्शन गरेको आत्म समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘जेनजी प्रदर्शनकारीले आफ्नो प्रदर्शनको आत्मसमीक्षा गरेर त्यति मात्रै जिम्मेवारी आफ्नो भागमा लिनुपर्छ जति तिनको आह्वान, संलग्नता र कर्म हो । भदौ २३ गतेको घटनाका दोषी उपर कारबाही हुनुपर्छ भनिरहँदा त्यो विल्कुल सही छ । अत्यधिक बल प्रयोग मार्फत होनहार युवाहरूको जीवनको समाप्ति इतिहासकै गम्भीर घटना थियो ।’
शर्माले २४ गते राष्ट्रव्यापी रूपमा भएको ध्वंसको घटनालाई अलग छुट्याउन, त्यसको निष्पक्ष र वस्तुगत छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन जेनजी युवाहरूकै विशेष माग बन्नुपर्ने र यसलाई जाँचबुझ आयोग मार्फत निष्पक्ष निरूपण गरिनु उचित हुने स्पष्ट पारेका छन् । यसो गरेर भविष्यमा त्यो ध्वंसको धब्बा आफूहरूको शिरमा लाग्न नदिन जेनजी प्रदर्शनका सबै अगुवा र प्रत्येक जेनजी युवा सजग हुन जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ ।