© 2026
काठमाडौं, २८ पुस ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई पुनः आग्रह गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा उनले विधानसम्मत ढंगले आयोजना गरिएको यस महाधिवेशनमा सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेताहरूलाई सहभागी हुन अनुरोध गरेका हुन् ।
थापाले हिजो उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा पनि देउवालाई सहभागी हुन अपिल गरेका थिए ।
‘हामी बन्दसत्रबाट पनि पार्टीका सभापतिजीलाई, पार्टीका कार्यवाहक सभापतिजीलाई यो पार्टीको कार्यक्रम हो । यो कुनै अलग कार्यक्रम होइन । पार्टीको विधानसम्मत ढंगले भएको यो कार्यक्रममा तपाईंहरूको सहभागीता अहिले पनि हामीले अनुरोध गरिरहेका छौं,’ थापाले भने ।
कार्यक्रममा सहभागी हुन देशभरका नेता तथा कार्यकर्ताहरूले आफूहरूसँग सम्पर्क गरिरहेको भएपनि केही नेताहरू डरका कारण उपस्थित हुन नसकेको उनले उल्लेख गरे ।
महामन्त्री थापाले आफूहरूले आयोजना गरेको विशेष महाधिवेशनलाई कसैले पनि अवैधानिक ठहर्याउन नसक्ने दाबी पनि गरे ।
‘धेरै साथीहरूले मलाई सम्पर्क गरिराख्नुभएको छ कोही बाहिरबाट, कोही भित्रबाट । यहाँ मान्छे पठाएर भनेका छन् कि आउन चाहनुहुन्छ, तर जिल्लाका नेताहरूसँग डराउनु भएको छ,’ उनले थपे ।