© २०२३
बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकूद बिकास समितिको आयोजनामा शनिबारदेखि शुरु भएको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ४२ विद्यालयका १ हजार ५८८ विद्यार्थी सहभागी छन्। प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए। शनिबार शुरु भएको प्रतियोगिता सोमबारसम्म चल्नेछ।
प्रतियोगितामा बुटवल उपमहानगर अन्तरगत रहेका ४२ वटा सामुदायिक तथा निजी विद्यालयहरुबाट १ हजार ५८८ विद्यार्थीहरुले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्दै छन् ।
जस अन्तरगत ९४१ जना छात्रा तथा ६०७ जना छात्रहरुले प्रतिस्पर्धा गर्ने खेलकूद बिकास समितिका संयोजक बोनिन पियाले जानकारी गराए । कूल ३५० उपाधिका लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा एथ्लेटिक्सतर्फ दौड, ज्याभ्लिङ्ग थ्रो, सटपुट, लङ्ग जम्प, हाई जम्प, त्रिपल लगायत रहेका छन् भने कराँते तर्फ ६ वटा विधा, तेक्वान्दोतर्फ ६ वटा विधामा प्रतिस्पर्धा हुँदै छ । यसैगरी समुहगत खेलमा भलिबल र कबड्डी प्रतियोगिता हुने संयोजक पियाले जानकारी दिए ।
प्रतियोगितामा रनिङ शिल्ड विजेता विद्यालयले नगद २५ हजार राशी प्राप्त गर्नेछ भने उप विजेता र तृतीय हुने विद्यालयलाई समेत क्रमशः १५ हजार र १० हजार नगद राशीले सम्मान गरिने संयोजक पियाले जानकारी दिए । यसैगरी विधागत तर्फ छात्रा/छात्र भलिबल प्रतियोगितामा विजेता दुबै समूहलाई नगद १५ हजार, द्वितीय हुने समूहलाई ७ हजार ५ सय कबड्डी तर्फ पनि प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार ७ हजार ५ सय र ३ हजार ५ सय नगद राशी प्रदान गरिने बताइएको छ ।
एकल प्रतिस्पर्धा तर्फ कराँते र तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय हनेलाई जनही क्रमशः २ हजार १ हजार ५ सय र १ हजार रुपैयाँ नगद प्रदान गरिने भएको छ । प्रतियोगितामा सहभागी विद्यार्थीका लागि खेल अवधिमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गरी दुर्घटना बीमाको समेत व्यवस्था गरिएको खेलकूद समितिले जनाएको छ ।
बुटवल-११, एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदकाे माध्यमबाट फरक पहिचान स्थापित गराउने प्रयास गरिरहेको बताए ।
उनलेे बुटवलमा रहेका शैक्षिक संस्था तथा यहाँ सञ्चालन गरिने विभिन्न खेलकुद गतिविधिले उत्कृष्ट खेलाडीहरुको उत्पादन र पहिचानमा टेवा पुर्याउँदै आएको उल्लेख गरे । राष्ट्रपति रनिङ शिल्ड एकवल एउटा कार्यक्रम नभई खेल गतिविधिको महाउत्सवको रुपमा रहेको बताउँदै उनले व्यवस्थित ढंगले सम्पन्न गर्न आग्रह गरे ।
कार्यक्रममा बुटवल उपमहानरका उपप्रमुख सावित्रादेवी अर्यालले प्रतियोगिताले विद्यार्थीको खेल प्रतिभा उजार गर्नुका साथै सामुहिक भावना र प्रतिस्पर्धात्मक क्षमताको बिकास गर्ने विश्वास व्यक्त गरिन । खेलकूदको माध्यमबाट विद्यार्थीको शारीरिक तथा मानसिक बिकासमा टेवा पुर्याउन प्रतियोगिताले सहयोग पुग्ने उनले बताइन ।