© 2026
काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकताका लागि १२ बुँदे सम्झौता भएको छ । आइतबार भएको सो सम्झौता अनुसार ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ ।
समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने उपेन्द्र यादव अध्यक्ष चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ ।
एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने सहमति पत्रमा उल्लेख छ । पार्टीको थप एकीकरण प्रक्रिया प्रचलित कानुन अनुसार हुने उल्लेख छ । पार्टी एकता पूरा नहुँदासम्म केन्द्रीय समन्वय समितिले पार्टी सञ्चालन गर्ने सहमति पत्रमा उल्लेख छ ।
दुवै पार्टीका भातृ संगठन, शुभेच्छुक संगठन तथा विभागहरू जसपा नेपालअन्तर्गत रही केन्द्रीय समन्वय समितिको मातहतमा रहेर कार्य गर्ने उल्लेख छ ।
पार्टी एकता भई समायोजन पूरा नहुँदासम्म दुवै पार्टीका अन्य संगठन तथा विभागहरू आआफ्नो जिम्मेवारी अनुसार समन्वय समितिको मातहतमा रहेर काम गर्ने सहमति भएको छ ।
फागुन २१ गते चुनावका लागि चयन गर्ने उम्मेदवारको लागि संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहने पनि सहमति भएको छ ।
त्यस्तै, राष्ट्रिय सभा सदस्यका लागि जसपा नेपालले दिएको उम्मेदवारी फिर्ता लिने विषय पनि सहमति पत्रमा उल्लेख छ ।