© 2026
काठमाडौं, २७ पुस ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नियमित महाधिवेशनमा नेतृत्वले ध्यान दिन नसक्दा विशेष महाधिवेशन गर्नुपरेको बताएका छन् ।
आइतबार काठमाडौंमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले भने,
“आज नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशन गरिरहेको छ । हामीले समयमा नियमित महाधिवेशन गर्न सकेनौं । विशेष महाधिवेशन दर्ता भएको तीन महिनाभित्र नियमित गर्न सकेको भए विशेष रद्द हुनसक्थ्यो । तर नेतृत्वले यसमा ध्यान दिएन । विशेष महाधिवेशन आफैं निष्क्रिय हुन्छ भन्ने दम्भ पालेर बसेको हुनाले आज हामीले विशेष महाधिवेशन गरिरहेका छौं,”
पौडेलले थपे कि पार्टी फुटाउन लागेको भनेर आरोप लगाउन नमिल्ने पनि छ ।
“महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दा उनीहरूलाई अपमान गरेर कांग्रेस फुटाउन लाग्यो भन्न पाइँदैन । गणितका आधारमा विश्वास प्राप्त नभएमा मात्र नैतिकताको ख्याल गर्नुपर्छ,” उनले भने ।
उनले भने, “यो विधानले व्यवस्था गरेको अवस्था हो । विधानलाई केन्द्रीय समिति वा कार्यसम्पादन समितिले निर्देशित गर्न सक्दैन । विधानअनुसार विशेष महाधिवेशन भइरहेको हो । नेपाली कांग्रेस एउटा राजनीतिक पार्टी मात्र होइन, यो देशका सबै बेथितिविरुद्धको अभियान हो ।”
पौडेलले नेपाली कांग्रेस दलित, मधेशी, जनजाती र सिमान्तकृत वर्गविरुद्धको विभेद विरुद्धको अभियानमा सधैं अग्रसर रहेको पनि बताए ।