© 2026
सल्यान, २७ पुस ।
नेपाली समाजमा हराउँदै गएको श्रम संस्कृतिलाई सल्यानमा ब्युँझाउने कोसिस गरिएको छ ।
पछिल्लो समय जिल्लाका विभिन्न स्थानीय तहहरूमा जनप्रतिनिधिहरूको सक्रियता एवं स्थानीय समुदायको सहभागितामा श्रमदानमार्फत विकास निर्माण र सार्वजनिक कामहरू सञ्चालन हुने गरेका छन् ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर–५ सिरुवालीमा अवस्थित सरस्वती आधारभूत विद्यालयमा श्रमदान गरिएको छ । विद्यालयको पुरानो जीर्ण भवन भत्काएर व्यवस्थापन गर्ने तथा विद्यार्थीको दिवा खाजाका लागि क्यान्टिन निर्माण गर्न स्थानीयवासी श्रमदानमा जुटेका हुन् ।
वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष फौदबहादुर बस्नेतको योजना र सल्लाह अनुसार बुद्धिजीवी, युवा, शिक्षा प्रेमी, शिक्षक, सम्पूर्ण अभिभावक विव्यस पदाधिकारी, शिक्षक अभिभावक सङ्घका सदस्यहरू गरेर करिब एक सय २० जनाको उपस्थितिमा क्यान्टिन निर्माण तथा दुई कोठे नयाँ पक्की भवन निर्माणको लागि फाउन्डेसन निर्माणमा श्रमदान गरिएको विद्यालयले जनाएको छ ।
वडाध्यक्ष बस्नेतले विद्यालयजस्तो संवेदनशील क्षेत्रमा गरिएको श्रमदानले शिक्षा र सामुदायिक भावनालाई बलियो बनाउने अपेक्षा गरे । छत्रेश्वरी–५ मा यसअघि पनि क्रिसमस डे को अवसरमा सिरुवाली टोलका बासिन्दाहरूले चौरपानी–काप्रेचौर–सिरुवाली सडक खण्डअन्तर्गत जलुके खोली आसपास बिग्रिएको बाटो मर्मत गरेका थिए ।
यस्तै गत साता कपुरकोट गाउँपालिका वडा नम्बर–४ मा घँघारीचौर पर्यटन प्रवर्द्धनका लागि फालाबाङ जाने मोटरबाटोदेखि पुरानो जीर्ण अवस्थामा रहेको भगवती मन्दिरसम्म दुई सय ६१ मिटर बाटोमा जनश्रमदानबाट सोलिङ कार्य सम्पन्न गरिएको छ ।
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने अभियान अन्तर्गत घँघारीचौर टोलको अगुवाईमा श्रमदान गरिएको वडा सदस्य रेशम चन्दले जानकारि दिए । यसैगरी कपुरकोट गाउँपालिका–६ अन्तर्गत सातामुल पर्यटकीय क्षेत्रमा पनि चमेनागृह निर्माणका लागि श्रमदान गरिएको थियो ।
कपुरकोट गाउँपालिकाले श्रमजागरण अभियान सञ्चालन गर्दै विकास निर्माणका योजनाहरूमा स्थानीय सहभागिता बढाइरहेको छ । जिल्लाको शारदा नगरपालिका र सल्यान प्रहरीको सहकार्यमा वडा नम्बर–१३ मा पनि बालकल्याण प्राथमिक विद्यालयको भवन श्रमदानबाटै निर्माण गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयको अग्रसरतामा श्रमदान मार्फत विभिन्न सार्वजनिक भौतिक संरचनाहरू निर्माण हुँदै आएका छन् ।
पछिल्लो समय आधुनिक जीवनशैली, वैदेशिक रोजगारी र व्यक्तिगत व्यस्तताका कारण श्रम संस्कृतिमा कमी आएको छ । यद्यपि सल्यानका विभिन्न स्थानमा सञ्चालन भएका यस्ता किसिमका श्रमदान अभियानले समुदायमा सकारात्मक प्रभाव देखिएको छ ।
श्रमदानले विकास निर्माणमा लागत घटाउने, स्थानीयमा अपनत्व, एकता र जिम्मेवारीको भावना विकास हुने समाजका अगुवाहरू बताउँछन् ।