© 2026
काठमाडौं, २६ पुस ।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् । रुकुम पश्चिममा जारी नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक दाहालले आगामी चुनाव रुकुम पूर्वबाट लड्ने बताएका हुन् ।
“अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु,” उनले भने, “पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने तपाईंहरूले बुझिराख्नुभएको होला ।”
उनले पश्चिम रुकुमका जनताको विश्वास र चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे । साथै, विकास निर्माणका कामलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताको दुःख–सुखमा एकाकार हुन निरन्तर आउने प्रतिबद्धता जनाए ।
यसअघि आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड कहाँबाट उम्मेदवार हुने भन्ने विषय सार्वजनिक भएको थिएन । उनलाई करिब आधा दर्जन जिल्लाबाट उम्मेदवार बन्ने सिफारिस आएको थियो ।