Butwal Today

‘महिला सहभागिताको बाधक महिलाभित्रै रहेको डर, संकोच र मौनता’

२५ पुष २०८२, शुक्रबार
अ+
अ-

बुटवल। निर्वाचनमा महिलाको सहभागिता किन अझै कमजोर छ ? यो प्रश्न रुपन्देहीको तिलोत्तमामा शुक्रबार सम्पन्न निर्वाचन प्रणाली र महिला सहभागिता विषयक अन्तरक्रिया कार्यशालामा बारम्बार उठ्यो।

संयुक्त महिला संगठनको आयोजनामा भएको कार्यक्रममा ६ दलका ५४ जना महिला प्रतिनिधिहरूले बाह्य अवरोधभन्दा पनि महिलाभित्रै रहेको डर, संकोच र मौनतालाई ठूलो समस्या मानेका छन्।

कार्यक्रमका सहजकर्ता सविधानसभा सभा सदस्य डा. विन्दा पाण्डेले महिलाहरू उम्मेदवार बन्ने अवसर आफैँ गुमाइरहेको बताइन्। उनले महिला पदको मात्र होइन, एजेन्डाको उम्मेदवार बन्नुपर्नेमा जोड दिइन्। पाण्डेले दाबी नगरी अधिकार नपाइने बताउदै हरेक दलमा आवद्ध महिलाहरु देखाउन होइन लेखाउन सक्ने गरि पदाधिकारीमा उम्मेद्बारी दिन आग्रह गरिन्।

यस्तै राष्ट्रिय सभा सदस्य रेणु चन्दले चुनावको समयमा फैलिने मिस इन्फर्मेसन र डिस इन्फर्मेसनले महिलालाई झन् कमजोर बनाउने बताइन्।

उनले उम्मेदवारले आफूले गर्न सक्ने प्रतिबद्धता मात्रै राख्नुपर्ने र रणनीति, टिम तथा समय व्यवस्थापन गरेर चुनावी मैदानमा उत्रिनुपर्ने सुझाव दिइन्।

पैसाको अभावलाई बहाना बनाएर चुनावबाट पछि हट्ने मानसिकता त्याग्नुपर्ने उनको भनाइ थियो। अनेमसंघ केन्द्रिय महासचिव पेम्बा लामाले महिलाहरू डरका कारण एस म्यान बन्न बाध्य भइरहेको गुनासो गरिन्। महिला आन्दोलनबाट आएका धेरै नेतृहरू अझै पनि घेराबन्दीमै सीमित रहेको उनको टिप्पणी थियो।

कार्यक्रममा बोल्ने वक्ताहरुले महिलाले पाएको ३३ प्रतिशत सहभागिता कागजमै सीमित भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । नियमावलीअनुसार बन्नुपर्ने समन्वय समिति नबन्नु र महिलाहरू एकजुट भएर माग राख्न नसक्नु महिला आन्दोलनकै कमजोरी भएको बताए।

नेतृत्वमा रहेका पुरुष रिसाउने हो कि, आफूले पाएको अवसर गुम्ने हो कि भन्ने डरले महिला नेताहरू अझै खुल्न नसकेको सहभागीहरूले आरोप लगाए ।

यही डर र मौनताले महिला आन्दोलन इतिहासमै कमजोर बन्ने र भोलिका पुस्ताले अझ ठूलो मूल्य चुकाउनुपर्ने खतरा रहेको उनीहरूको भनाइ थियो।