© 2026
घुमफिर गर्नु मानिसहरूको स्वभाव हो । यो काम मानव समाजको उत्पत्तिसँगै निरन्तर चलिरहेको छ ।
पहिले पहिले मानिसहरू निश्चित कामले आफ्नो ठाउँबाट अन्यत्र पुग्नु नै घुमफिर हुने गर्दथ्यो । पछिल्लो शताब्दीमा भने मानिसहरू घुम्नकै लागि विभिन्न स्थानमा पुग्ने गर्दछन् । अहिले घुमफिर ‘फुर्सदको काम’ नभएर जीवनको अभिन्न पाटो बन्दै गएको छ ।
विद्यार्थीहरूदेखि व्यापारीसम्म अनि बालबालिकादेखि वृद्धसम्म विभिन्न तरिकाले विभिन्न स्थानमा घुमफिरको लागि पुग्ने गरेको देखिन्छ । धनीमानी मात्र हैन सामान्य आय आर्जन गर्नेहरूले समेत घुमफिरमा राम्रै खर्च गर्न थालेका छन् ।
घुमफिरलाई लक्षित गरेर सरकार र निजि क्षेत्रले पूर्वाधारमा अरबौं लगानी गरिरहेका छन् र आउँदा दिनहरूमा यो लगानी अझ बढ्दै जानेछ । नेपालीहरू देशभित्र मात्र नभएर विदेशमा पनि घुमफिरको लागि जाने प्रवृति बढिरहेको छ ।
घुमफिरले मनोरञ्जन मात्र प्रदान गर्दैन, देश चिन्ने अवसरहरू समेत प्राप्त हुन्छन् । तर, कहाँ ? कसरि? र के को लागि घुम्ने भन्ने उचित ज्ञान र सिप नहुँदा घुमफिर केवल फोटो खिच्ने र खानपिन गरेर फर्कने अवसरमा मात्र सिमित भएको देखिुन्छ ।
घुमफिरमा संलग्न हुने ठुलो समुह स्कूल, क्याम्पसका विद्यार्थीहरू र सहकारी जस्ता सामुदायिक सस्थाका सदस्यहरू हुन् । रूपन्देहीका लुम्बिनी, शंकरनगर वनबाटिका, मणिमुकुन्दसेन पार्क, गजेडी ताल, देवदह जस्ता स्थानमा गएर हेर्ने हो भने यिनै घुमफिरकर्ताको संख्या नै बढी देखिन्छ ।
यी र यस्तै स्थानमा घुमफिर गर्न जानेहरूले आफ्नो अधिकांश समय फोटो खिच्नमा नै खर्चने गर्दछन् । सकेसम्म छोटो समयमा धेरै स्थान हेर्ने चाहनाले गर्दा भ्रमणको नाममा ठाउँ टेक्ने काम मात्र हुने गरेको छ । मणिमुकुन्द पार्कमा घुमफिर गर्न पुगेका मानिसहरूले मणिमुकुन्द सेन को थिए? फुलबारी भनिएको पार्कको सेन राजासंग कस्तो सम्बन्ध छ? नजिकैको मजारथान के हो ?
फुलबारी नजिकैका भ्रमण योग्य स्थानहरू कुनकुन हुन र त्यसको ऐतिहासिक, साँस्कृतिक महत्व के छ भन्ने बारेमा कुनै जानकारी लिने प्रयास नै गरेको देखिदैन । न त छपियाका फिस रिसोर्टमा घुम्न गएकाहरूले माछा व्यवसाय, माछाका प्रकार, मत्स्य व्यवसायको सम्भावनाको बारेमा जानकारी नै लिन्छन् ।
नेपालमा सबैभन्दा धेरै आन्तरिक पर्यटक पुग्ने लुम्बिनी पुग्ने घुमफिरकर्ताहरूले लुम्बिनीको ऐतिहासिक, सास्कृतिक पृष्ठभूमि के हो ? त्यस स्थानको पर्यावरणीय– भौगोलिक अवस्था कस्तो छ ? भन्ने बारेमा निकै कम मात्र चासो राखेको देखिन्छ ।
भ्रमणबाट ज्ञान र सिप सिक्न सकिन्छ र त्यसलाई जीवनमा उपयोग गरेर आर्थिक, सामाजक लाभ लिन सकिन्छ भन्ने बारेमा घुमफिर गर्ने मानिसले खासै ध्यान दिएको देखिदैन ।
घुमफिरलाई रमाईलो गर्ने र फोटो खिचाउने अवसरको रूपमा मात्र लिदा धेरैजसो अवस्थामा समय र पैसाको बर्बादी मात्र भएको छैन, जीवनभर शारीरिक क्षति र मानसिक पिडा समेत भोग्नुपरेको समेत देखिन्छ । यस्तो अवस्था आउनुमा भ्रमण शिक्षाको कमि नै हो ।
भ्रमण शिक्षा पर्यटन शिक्षा हैन, यो त एउटा पर्यटकलाई भ्रमण योजना बनाउन र लाभप्रद घुमफिर गर्ने तरिकाको जानकारी दिने शिक्षा हो । यसले आफ्नो आर्थिक क्षमता, रुची, शारीरिक र मानसिक अवस्था, उपलब्ध समय अनुसार कसरि र कहाँ घुम्ने भन्ने बारेमा स्व– निर्णय लिन र भ्रमणबाट बढीभन्दा बढी ज्ञान र सिप आर्जन गर्न सिकाउछ ।
भ्रमण शिक्षाले आफु घुम्न जाने स्थान र त्यहाँको सम्पदाको बारेमा जानकारी दिने भएकोले भ्रमण गर्न जाँदा धेरै कुरा सिक्ने अवसर मिल्छ । यसले भ्रमण स्थलको सामाजिक सास्कृतिक अवस्थाको जानकारी दिने भएकोले भ्रमण स्थलको परिवेशमा आफुलाई समायोजन गरेर बढी आनन्द लिन सघाउँछ । भ्रमण शिक्षाले यात्राको क्रममा आउन सक्ने जोखिमको बारेमा जानकारी लिन सघाउछ, जसले गर्दा यात्रा सुरक्षित र तनाव रहित बन्न सक्छ ।
घुमफिर गर्ने काईदा सिकाउने भ्रमण शिक्षा औपचारिक र अनौपचारिक दुवै किसिमले प्रदान गर्न सकिन्छ । औपचारिक रूपमा विद्यालयका पाठ्यक्रममा भ्रमण शिक्षालाई समावेश गर्नु व्यक्ति र समग्र पर्यटन क्षेत्रको लागि राम्रो उपाय हो ।
पालिकाहरूले बनाई रहेका स्थानीय पाठ्यक्रममा नै भ्रमण शिक्षालाई समावेश गर्न सकिन्छ । यसमा बालबालिकाहरूलाई पालिका भित्र रहेका पर्यटकीय सम्पदाको जानकारी दिने, ति क्षेत्रको महत्व र जीवनमा त्यसलाई जोड्ने उपायको बारेमा बताउने, भ्रमण मार्गहरूको जानकारी दिने जस्ता काम गर्न सकिन्छ ।
यसले बालबालिकाका शैक्षिक भ्रमणलाई मात्र नभएर भविस्यमा गरिने पारिवारिक र व्यवसायिक भ्रमणलाई पनि व्यवहारिक र उपलब्धि मुलक बनाउन मद्दत पुग्नेछ । अहिलेसम्म माध्यमिक र उच्च तहमा पर्यटन अध्ययन विषय पढ्ने विद्यार्थीहरूलाई कसरि पर्यटन व्यवसाय संचालन गर्ने ? कसरी धेरै पर्यटकलाई सेवा प्रदान गर्ने ? पर्यटनबाट कसरि लाभ लिने जस्ता कुराहरू पढाउने गरिएको छ ।
कसरि असल भ्रमणकर्ता बन्ने र घुमफिरबाट कसरि धेरै लाभ लिने भन्ने कुरा पर्यटन अध्ययन विषयमा विरलै सिकाउने गरिएको छ । आफु घुमफिर गर्न नजान्ने मानिसले पर्यटकलाई बोलाएर, घुमाएर र उत्पादन बेचेर वास्तविक लाभ लिन कदापि सक्दैन ।
त्यसैले माध्यमिक तह र विश्वविद्यालयका पाठ्यक्रममा पर्यटन अध्ययन विषयमा भ्रमण कलालाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ । यसबाट देशले असल पर्यटक र दक्ष टुर गाईड, योग्य पर्यटन व्यवसायी तयार गर्न सहयोग पुग्छ ।
अहिले ठूलो संख्यामा सामुदायिक र व्यवसायिक संघ संस्थाबाट भ्रमणको लागि हिडिरहेको देखिन्छ । त्यसैगरी पारिवारिक भ्रमणमा जाने संस्कार विकसित भैरहेको छ । देशको अर्थतन्त्रको लागि यो सकारात्मक संकेत हो ।
यस्ता भ्रमणकर्ताको लागि अल्पकालीन भ्रमण शिक्षा र परामर्श सेवा दिनु उपयुक्त हुन्छ । आफ्नो संस्थाबाट भ्रमणमा लैजानु अघि भ्रमण गर्न लागेको स्थानको समग्र पक्षको जानकारी भएको र पर्यटन बुझेको कुनै विज्ञलाई बोलाएर उसबाट कम्तिमा एकदिने भ्रमण शिक्षा लिने व्यवस्था गर्न सकिन्छ ।
सहकारी सस्थाहरूले सहकारी शिक्षाको नाममा छुटाउने रकम खानपिन गरेर खर्च गर्नु भन्दा सदस्यहरूलाई भ्रमण शिक्षा दिन सकेमा सदस्यहरूले देश र समाज चिन्न र समुदायहरूमा भएका असल अभ्यासहरूको अनुसरण गर्ने मौका पाउछन् । पारिवारिक र व्यक्तिगत भ्रमणमा जान चाहनेहरूकको लागि सरकारी–निजि क्षेत्र मिलेर भ्रमण परामर्श केन्द्र संचालन गर्नुपर्छ. ।
यस्ता केन्द्रहरूले भ्रमण गर्न चाहने व्यक्तिको आर्थिक अवस्था, उसको सामाजिक पृष्ठभूमि, रुची, भ्रमणको लाभ क्षेत्र जस्ता कुराहरूलाई आधार बनाएर भ्रमण गर्ने स्थान, उपलब्ध सुविधा, स्थानमा उपलब्ध सम्पदा र इतिहास, भ्रमण रुट र स्थानीय उत्पादनहरू, त्यसबाट लाभ लिने तरिकाको बारेमा जानकारी दिनुपर्छ. यसबाट भ्रमणकर्तालाई भ्रमण योजना बनाउने र भ्रमणलाई लाभप्रद बनाउन प्रयत्न गर्न अवस्यपनि मद्दत पुग्नेछ ।
औपचारिक र अनौपचारिक जुन माध्यमबाट भ्रमण शिक्षा दिएपनि त्यसमा भ्रमण गर्ने स्थानको भूगोल, वातावरण, सस्कृति, सम्पदा, कला, भ्रमण मार्ग, जनसांख्यिक अवस्था, स्थानीय उत्पादन जस्ता कुराको जानकारी लिने तरिका समावेश गरिएकै हुनुपर्छ । नेपालमा पर्यटक व्यवसायमा ठुलो लगानी भैरहेको छ र देशमा घुमफिर गर्ने र घुमफिर गर्न खोज्नेहरूको संख्या बढिरहेको छ ।
नेपालको अर्थतन्त्रको लागि यो सुखद संकेत हो । पर्यटन उद्योग पर्यटकलाई सेवा दिन तत्पर भएपनि घुमफिर गर्नेहरूको तयारी र भ्रमणमा उद्देश्यमूलक संलग्नताको कमीको कारण पर्यटन उद्योग र पर्यटक दुवैले आशातित लाभ प्राप्त गर्न सकिरहेको देखिदैन ।
पर्यटन व्यवसायलाई देशको अर्थतन्त्रको सबल मेरुदण्ड बनाउन र भ्रमणबाट भ्रमणकर्ताको भ्रमण आनन्दित र सिकाई अवसर बनाउनको लागि घुमफिर शिक्षा÷भ्रमण शिक्षाको विकास, विस्तार र अभ्यास हुनुपर्छ । यस काममा पर्यटन व्यवसायी, पर्यटन तथा शिक्षाका नीति निर्माता र तिनै तहको सरकारले ध्यान दिनु जरुरी छ ।