Butwal Today

विदेश भ्रमणका २ निमन्त्रणा अस्वीकार गर्दै मन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ ?

२५ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश भ्रमणका लागि आएका दुईवटा निमन्त्रणापत्र सार्वजनिक गर्दै आफू त्यहाँ नजाने जानकारी दिएका छन् ।

मन्त्री पद सम्हालेपछि यसअघि पनि तीनवटा विदेशी भ्रमणको निमन्त्रणा आए पनि उनले नगएको उल्लेख गर्दै यसपटक पनि नजाने स्पष्ट पारेका हुन् ।

‘लौ जा, म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीनवटा विदेश भ्रमणमा गइनँ । अहिले पनि दुईवटा निमन्त्रणा आएछ । यसमा पनि जान्नँ,’ मन्त्री पुनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले थपे, ‘देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किनभने केही गर्न पैसा चाहिन्छ । विदेश घुमेर अर्थतन्त्र बन्छ ?’

उनले सार्वजनिक गरेका पत्रअनुसार उनलाई आगामी फेब्रुअरी ४–६ मा इजरायलको जेरुसेलममा आयोजना हुने ‘मिनिस्टेरियल कन्फ्रेन्स अल पोलिसिमेकिङ फर पर्सनलाइज्ड एजुकेसन इन द एज अफ एआई’ मा सहभागिताका लागि आमन्त्रित गरिएको छ ।

अर्को निमन्त्रणा साउदी अरेबियाको रियादमा आगामी मे ३–४ मा हुने साउदी भिजन–२०३० अन्तर्गत ‘ह्युमन क्यापेबिलिटी इन्सिएटिभ’ (एचसीआई) को तेस्रो संस्करणमा सहभागी हुनका लागि पठाइएको छ ।