© 2026
काठमाडौँ ।
इरानभर आर्थिक संकटका कारण शुरू भएका प्रदर्शनहरू तीव्र बन्दै गएका छन् । अहिलेसम्म कम्तीमा ४५ जनाको ज्यान गइसकेको छ भने २ हजारभन्दा बढी मानिस पक्राउ परेका छन् ।
अमेरिकी प्रतिबन्धका कारण इरानी मुद्रा रियालको मूल्य तीव्र रूपमा घटेपछि शुरू भएका आन्दोलनहरू अहिले देशभर व्यापक सरकारविरोधी प्रदर्शनमा परिणत भएका छन् । प्रदर्शन नियन्त्रण गर्न इरानी अधिकारीहरूले देशभर इन्टरनेट सेवा बन्द गरेका छन् ।
यसबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि हिंसा भएमा कडा कारबाही गर्ने चेतावनी पुनः दोहोर्याएका छन् । साथै, ट्रम्पले इरानका स्वघोषित ‘क्राउन प्रिन्स’ रेजा पहलाभीसँग भेट गर्नु उपयुक्त नहुने बताएका छन् ।
यसले इरानमा सत्ता परिवर्तन भएमा अमेरिकाले कुनै पक्षलाई समर्थन नगर्ने संकेत देखिएको कतारी सञ्चार माध्यम अल जजिराले जनाएको छ ।
रेजा पहलाभी इरानका अन्तिम शाह मोहम्मद रेजा पहलाभीका छोरा छन् । उनी सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्ताच्युत भएका थिए ।
बिहीबार ‘द ह्युग हेविट शो’ पोडकास्टमा बोल्दै राष्ट्रपति ट्रम्पले पहलाभीलाई ‘राम्रो व्यक्ति’ भने पनि राष्ट्रपति हैसियतले भेट गर्नु उपयुक्त नहुने बताएका छन् ।
अमेरिकामा निर्वासित जीवन बिताइरहेका र इजरायलसँग निकट सम्बन्ध राख्ने रेजा पहलाभी इरानी विपक्षी शक्तिभित्रको राजतन्त्र समर्थक समूहको नेतृत्व गर्छन। उनले हालै इरानमा सरकार ढल्यो भने संक्रमणकालीन नेतृत्व सम्हाल्न आफू तयार रहेको बताएका थिए ।
तर ट्रम्पको पछिल्लो अभिव्यक्तिले उक्त प्रस्तावलाई अमेरिकाले औपचारिक समर्थन नगरेको स्पष्ट भएको छ । रेजा पहलाभीले ट्रम्पको चेतावनीप्रति आभार व्यक्त गर्दै युरोपेली नेताहरूलाई पनि इरानी जनताको पक्षमा स्पष्ट रूपमा उभिन आग्रह गरेका छन् ।
इरान अहिले आर्थिक, राजनीतिक तथा वातावरणीय संकटसँग जुधिरहेको छ ।