Butwal Today

आउँदो निर्वाचनमा जिल्ला बाहिरका मतदातालाई मतदान अनुमति नहुने

२५ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

आउँदो प्रतिनिधि सभाको निर्वाचनमा जिल्ला बाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले निश्चित समूहका लागि मात्रै अस्थायी मतदाता नामावली संकलन गरेकाले सबै मतदाताले अन्तरजिल्ला मतदान गर्न नपाउने भएका हुन् ।

शुक्रबार आयोगले पत्रकार सम्मेलन गरी निर्वाचनको तयारीबारे जानकारी दिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन तयारी द्रुतगतिमा भइरहेको बताए ।

प्रवक्ता भट्टराईले यस पटक अन्तरजिल्ला मतदानको व्यवस्था नभएको जानकारी दिए । उनले भने, ‘कानुनी र प्राविधिक पूर्वतयारी गर्नुपर्ने भएकाले यो पटक त्यो काम गर्न सकेनौँ ।’

विदेशमा रहेका नागरिकलाई पनि मतदानको व्यवस्था गर्नुपर्ने माग उठेको थियो । तर आयोगले जिल्लाबाहिरबाट मतदान गर्न पाउने व्यवस्था गर्न सकेन ।

आयोगले अस्थायी मतदाता नामावली संकलन गरेको छ । यसअघि जस्तै यस पटक पनि निर्वाचनमा खटिने प्रहरी, कर्मचारी, कारागारमा रहेका कैदीबन्दी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक मात्र अस्थायी मतदाता सूचीमा समावेश भएका छन् ।

त्यसैले उनीहरूबाहेक अन्य नागरिकले जिल्लाबाहिरबाट मतदान गर्न पाउने छैनन् ।

निर्वाचनको सुरक्षाबारे सोधिएको प्रश्नमा प्रवक्ता भट्टराईले डराउनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘जिल्ला तहमै एकीकृत सुरक्षा योजना बनाएर काम भइरहेको छ । सुरक्षाकै कारणले निर्वाचनमा डराउनुपर्ने, मतदान गर्न जान डराउनुपर्ने अवस्था छैन ।’

त्यस्तै, निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्ने विषयमा सोधिएको प्रश्नमा प्रवक्ता भट्टराईले प्रयास भइरहेको बताए । ‘हामीले मेटा र टिकटकसँग सम्पर्क गरेका छौँ । दुवै कम्पनीले सकारात्मक जवाफ दिएका छन् । आयोग उनीहरूसँग सम्पर्कमा छ,’ उनले भने ।

उम्मेदवार फिर्ताको विषयमा अहिलेसम्म जानकारी नभएको प्रवक्ताले बताए । उम्मेदवारी फिर्ता लिने समय पुस २८ गते तोकिएको छ । अहिले सामाजिक सञ्जालबाट फिर्ताको घोषणा भए पनि आधिकारिक रूपमा पुस २८ गते निवेदन दिनुपर्ने उनले बताए ।