Butwal Today

विशेष महाधिवेशनको नाममा पार्टी विभाजन हुन लागेको कांग्रेस संस्थापन समूहको दाबी

२५ पुष २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौं, २५ पुस ।

नेपाली कांग्रेसको संस्थापन समूहका केही नेताहरूबीच भएको छलफल सम्पन्न भएको छ । छलफलले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन पनि रोक्न आग्रह गर्ने निष्कर्ष निकालेको छ ।

काठमाडौंको बानेश्वरस्थित आनन्दभूमि इभेन्टमा भएको छलफलमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामालगायत सहभागी थिए ।

उक्त छलफलले पार्टी एकता जोगाउन सक्रिय पहल आवश्यक रहेको निष्कर्ष निकालेको हो । छलफलको जानकारी दिँदै केन्द्रीय सदस्य गुरु बरालले पार्टी कमजोर बनाउन खोज्ने शक्तिहरू सक्रिय भएको भन्दै त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भएको बताए ।

उनले भने, ‘इतिहासको मोडमा कांग्रेस उभिएको छ । पार्टी विभाजन र कमजोर बनाउन केही तत्व सक्रिय छन् । त्यसकारण पार्टीलाई फुटबाट जोगाएर एकता कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।

कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुन्छ । भूराजनीति र राष्ट्रिय राजनीतिका कारण पनि कांग्रेस विभाजन हुन नदिन देशभरका साथीहरूलाई आह्वान गर्ने निर्णय भएको छ ।’

बरालले विशेष महाधिवेशनको नाममा पार्टी विभाजनको अवस्था सिर्जना हुन लागेको भन्दै त्यसमा संलग्न पक्षलाई पनि कांग्रेस एक ढिक्का बनाउन आग्रह गर्ने निर्णय भएको बताए ।

‘विशेषको नाममा पार्टी विभाजन हुन लागेको देखिन्छ । त्यसकारण विशेष भनिरहेका साथीहरूलाई पनि कांग्रेस एकढिक्का बनाउन आह्वान गर्ने निर्णय भयो,’ उनले भने, ‘युवा र जिल्ला सभापतिहरूको भेला बोलाएर मुठभेडतर्फ होइन, एकताको दिशामा लैजान खोजिएको हो ।’

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितले पुस २७ गते विशेष महाधिवेशन आह्वान गरेका छन् । यता संस्थापन समूहले सोही दिन युवा तथा जिल्ला सभापतिहरूको भेला डाकेको छ ।