© २०२३
नेपालीको भान्सामा सर्वाधिक खपत हुने हरियो सागमा समेत उच्च विषादीको मात्रा भेटिएपछि चिन्ता उत्पन्न भएको छ ।
नेपालीले खाने सबै प्रकारका तरकारीमा विषादी प्रयोग हुने गरेको कुरा अब छर्लङ्गै भएको छ । किनभने सागमा समेत विषादी हाल्नुपर्ने अवस्था आउनु भनेको अरू तरकारीमा विषादी नछरी उत्पादन नै हुँदैन भन्ने कुराको प्रमाण अनि ग्यारेन्टी हो ।
गत साता काठमाडौँ, हेटौडा र चितवनमा गरिएको विषादी परीक्षणमा सागमा उच्च मात्रामा विषादी प्रयोग भएको भेटिएको थियो । रायोको सागमा समेत विषादी प्रयोग गर्नुपर्ने अवस्था आउनु भनेको नेपालीहरूको स्वास्थ्य पूर्ण रूपमा जोखिमले भरिनु हो भन्दा अत्युक्ति हुँदैन ।
अहिले काउली, टमाटर, सिमी, बन्दाकोभी, ब्रोकाउली लगायतका तरकारीमा उच्च मात्रामा विषादी प्रयोग गर्ने गरिएको भेटिएको छ । यो विषादीले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने मात्र होइन, विषादीको मात्रा यही स्तरमा बढ्दै जाने हो भने एक दिन नेपाल तरकारीमा विषादी मुलुक बन्ने निश्चित छ ।
विषादी प्रयोगमा सावधानी अपनाउन नसक्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने निश्चित छ । त्यसमाथि भारतबाट आउने तरकारीमा समेत उच्च विषादी प्रयोग गरिएको पाइएको छ । यद्यपि विषादी प्रयोग नगरी तरकारी उत्पादन गाह्रो देखिएको छ ।
विषादी प्रयोग नगर्दा किराले बोट नै सखाप गरिदिने अवस्था छ । त्यस कारण विषादीको विकल्प छैन भन्दा हुन्छ तर विषादीको मात्रा ठिक्क राख्दा पनि हुनुपर्नेमा उच्च विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने कुरातर्फ नजरअन्दाज गरिएको छ ।
किसानलाई लोभ लाग्नु स्वाभाविक छ । विषादीको मात्रा बढाउँदा उत्पादन बढ्छ, उत्पादन बढाउने लोभमा लोभिनु किसानको बाध्यता पनि हो । तसर्थ सरकारले विषादी नियन्त्रण गर्न वैकल्पिक उपायको खोजी गर्नु आवश्यक छ ।
अबको दिनमा जैविक विषादीको विषयमा किसानहरूलाई सचेत बनाउने हो भने पनि विषादी नियन्त्रणमा सहयोग पुग्न सक्छ । विषादीको विकल्पमा जैविक विषादीको प्रयोग बढाउनुपर्ने चर्चा समेत चलिरहेकोले जैविक विषादी उत्पादनमा ध्यान दिनुपर्ने जरुरी छ ।
जैविक विषादी उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्नुपर्ने खाँचो पनि छ । आगामी दिनमा खाद्य उत्पादन वृद्धि गर्न, उत्पादित खाद्य पदार्थलाई सुरक्षित तरिकाले भण्डारण गर्न, खाद्य पदार्थको सुरक्षा गर्दा अपनाइने तरिका सम्बन्धी ज्ञान प्रदान गर्नेतर्फ सचेतना पनि उत्तिकै आवश्यक छ ।
कृषकले गाईबस्तु तथा बाली नाली संरक्षण गर्न र उत्पादन वृद्धि गर्न केही औषधिको प्रयोग गर्छन् । यो औषधी कसरी प्रयोग गर्ने भन्ने ज्ञान कृषक तथा खाद्य पदार्थ उत्पादन गर्ने उद्योगलाई दिनु जरुरी छ ।
ती खाद्य पदार्थलाई उपभोक्तासम्म पु¥याउँदा प्रशोधन एवं संरक्षण गर्दा प्रयोग हुने रसायनको मात्राको ज्ञान नदिने हो भने कुनै दिन नेपाली कृषि उत्पादन विष वन्न पुग्छ । बजारमा उत्पादन र खपत हुने विभिन्न खाद्य पदार्थमा अखाद्य तत्वको मिश्रण हुने गरेको तथ्य यसअघि धेरैपटक बाहिर आइसकेको छ । यो समस्याको हल गर्न सरकारले खाद्य प्राविधिकलाई सचेतनाका कार्यक्रम संचालन गर्न फिल्डमै परिचालन गर्नुपर्दछ ।
दीर्घकालीन रूपमा यो समस्या हल गर्न खाद्य शिक्षामा लगानी जरुरी देखिएको छ । कुनैपनि कम्पनीले उत्पादन गरेको खाद्यपदार्थको बारेमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्दछ ।
उपभोक्ता पनि यसतर्फ जति सचेत हुनुपर्ने हो, त्यति हुन सकेको देखिँदैन । आगामी दिनमा विषादीको मात्रा रोक्नेतर्फ प्रयास भएन भने मानव स्वास्थ्य विषादीमय बन्ने अवस्था आउन सक्छ ।
तसर्थ विषादीको उच्च मात्रा नियन्त्रण गर्ने हो भने जैविक विषादीको प्रयोगको विषयमा ज्ञान दिने र जैविक मल उत्पादनमा लाग्ने किसानलाई पालिका, प्रदेश र संघीय सरकारले समेत प्रोत्साहन दिनु जरुरी छ ।