Butwal Today

स्वास्थ्य सेवामा डुडुवा बन्यो बाँकेको उत्कृष्ट पालिका

२४ पुष २०८२, बिहीबार
अ+
अ-

नेपालगञ्ज, २४ पुस ।

बाँकेको डुडुवा गाउँपालिका स्वास्थ्य सेवा अन्तर्गतको कार्यसम्पादनमा जिल्लामै सर्वोत्कृष्ट घोषित भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्य सूचकहरूको आधारमा गरिएको मूल्याङ्कनमा डुडुवाले ७९.३६ अङ्क प्राप्त गर्दै जिल्लाका अन्य पालिकालाई पछि पार्न सफल भएको हो ।

प्रथम स्थान हासिल गरेको डुडुवा गाउँपालिकालाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशन चौधरी तथा स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले संयुक्त रूपमा उत्कृष्ट प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे ।

सो अवसरमा डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो । स्वास्थ्य कार्यालय बाँकेद्वारा नेपालगन्जमा आयोजना गरिएको ‘स्वास्थ्य सेवा तथा कार्यक्रमहरूको प्रथम चौमासिक समीक्षा तथा कार्य योजना गोष्ठी’ का क्रममा उत्कृष्ट पालिकाहरूलाई सम्मान गरिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सेवा तथा कार्यक्रमसँग सम्बन्धित विभिन्न सूचकहरूको आधारमा गरिएको मूल्याङ्कनमा डुडुवाले सबैभन्दा बढी अङ्क प्राप्त गरी सर्वोत्कृष्ट बन्न सफल भएको हो ।

मूल्याङ्कनका क्रममा पालिकाले सेवा प्रवाह, पहुँच विस्तार र कार्यक्रम कार्यान्वयनमा उत्कृष्ट प्रदर्शन गरेको देखिएको उनले बताए । डुडुवा गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै निरन्तर सुधारमुखी काम गर्दै आएको छ ।

त्यसको सकारात्मक प्रभाव स्वरूप स्वास्थ्य सेवाको पहुँच बढेको, सेवा प्रभावकारी बनेको र बिरामीलाई उपचारका लागि सहज भएको स्थानीयको अनुभव छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीका अनुसार डुडुवाले घरघरमा स्वास्थ्य सेवा पु-याउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

हाल पालिकाका चार स्थानमा निःशुल्क प्रयोगशाला सेवा, ज्येष्ठ नागरिक गाउँपालिका अध्यक्ष कार्यक्रम, दुई वटा एम्बुलेन्स सेवा, सबै स्वास्थ्य संस्थामा सुविधा सम्पन्न आधारभूत सेवा, टाढा तथा सेवाबाट वञ्चित बस्तीमा थप स्वास्थ्य एकाइ स्थापना, सामुदायिक आँखा उपचार केन्द्र, नेपाल सरकारले उपलब्ध गराउने औषधि बाहेक मधुमेह, प्रेसर तथा जटिल रोगका लागि निःशुल्क औषधि, गाउँघर क्लिनिक, नियमित खोप तथा प्रसूति सेवा र स्वास्थ्य समस्या देखिनासाथ घरमै स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिँदै आएको छ ।

यसका साथै विपन्न नागरिकका लागि आँखा उपचार तथा शल्यक्रियामा सहयोग, नागरिक आरोग्य केन्द्र, हिरिमिनिया, कम्दी र बनकट्टी क्षेत्रमा घुम्ती भिडियो एक्स–रे सेवा, बेतहनीमा दैनिक सेवा सञ्चालन, तथा पाँच शैय्याको आधारभूत अस्पताल सञ्चालनको तयारीसमेत अन्तिम चरणमा पुगेको अध्यक्ष चौधरीले जानकारी दिए ।

यसै मूल्याङ्कनमा जानकी गाउँपालिका ७५.२१ अङ्कसहित दोस्रो र खजुरा गाउँपालिका ७१.९७ अङ्कसहित तेस्रो स्थानमा रहन सफल भएका छन् ।