© 2026
नेपालगन्ज, २४ पुस ।
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जले खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य अन्तर्गत बहराईच जिल्ला लौकाहीका ३३ वर्षीय फिरोज खान रहेका छन् । ब्युरोका अनुसार विशेष सुराकीको सूचनाका आधारमा बुधवार बेलुका करिब ६ बजेतिर बर्दियाको गुलरिया नगरपालिका–११ लालपुर नजिक उनलाई पक्राउ गर्न खोजिएको थियो ।
पक्राउका क्रममा खान भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीको तर्फबाट दुई राउन्ड गोली प्रहार गरिएको थियो । जसमा एक राउन्ड गोली उनको दाहिने खुट्टामा लागेको र अर्को गोली नलागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोली लागेपछि खानलाई नियन्त्रणमा लिएर कानुन बमोजिम खानतलासी गर्दा उनले लगाएको पाइन्टको दाहिने खल्तीभित्रबाट लागू औषध खैरो हेरोइन फेला परेको थियो ।
बरामद लागू औषध डिजिटल तराजुमा नाप्दा प्लास्टिकसहित २८३ ग्राम र प्लास्टिक हटाएर शुद्ध तौल २६६ ग्राम ५६० मिलिग्राम रहेको ब्युरोले जनाएको छ ।
खानको साथबाट तीन थान मोबाइल फोन समेत बरामद गरिएको छ । बरामद लागू औषध र अन्य सामग्रीसहित उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।
घटनापछि घाइते खानको उपचारको व्यवस्था मिलाइएको छ भने लागू औषध ओसारपसारको सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।