© २०२३
दाङ, २३ पुस ।
थारु जातीको महान पर्व माघीको तयारीले गर्दा रौनकता छाएको छ ।
माघे सङ्क्रान्ति नजिकिएसँगै दाङ जिल्लाका आदिवासी थारु बस्तीमा चहलपहल बढेको छ । घरबाट बाहिर रहेकाहरू माघी मान्नका लागि घर आउन थालेका छन् । थारुहरूले माघीलाई नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् । थारु स्वमत २६४९ को रूपमा यो पर्वलाई यस वर्ष मनाउँदै छन् ।
अहिले थारु बस्तीहरूमा खानपिन र नाचगानको तयारी भइरहेको छ । घोराही उपमहानगरपालिका १७ गैरागाउँका राजमोती चौधरीले माघ नजिकिँदै गर्दा तयारी पनि भइरहेको बताइन् ।
माघी पर्व आउनु भन्दा एक महिना अघिदेखि विभिन्न तयारी गर्ने चलन अनुसार आजभोलि वनबाट पात ल्याउने र दुना टपरी खुट्ने काम गरिरहेको बताइन् । गाउँको समूहको घरमा नाच सिक्ने गरेको उनले बताइन् ।
प्रत्येक दिन बेलुका ७ बजे जम्मा हुन्छौँ ९ बजेसम्म नाच सिक्छौँ उनले बताइन् । माघी मान्नका लागि घरबाहिर रहेका सदस्य घरमा आउँछन् गाउँघर नै रमाइलो हुन्छ ।
माघीका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही–७ का सुन्दर चौधरीले बताए । उनले भने,“माघीको अघिल्लो दिन रातभरी आगोको धुनी बालेर ताप्ने गर्दछन् ।
गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भाले बासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठुलालाई ढोगगरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ ।” खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ ।
यो खिचडी पूर्खा, देवीदेवता र चेलीवेटीका लागि छुट्टाइएको हुन्छ । छुट्टाइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली) का रूपमा चेलीवेटीका घरमा पुउने प्रचलन रहेको चौधरीले बताए ।
माघीको अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच श्रृङगार र करुण रसले भरिएको हुन्छ । यसमा बजाइने मादलको ताल, धुन र गाउने व्यक्तिको स्वरपनि विशेष र फरक प्रकारको हुने महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक केबी चौधरीले बताए ।
उनले भने, “माघमा महाभारत, रामायणका कथामा आधारित गीत गाउने प्रचलन रहेको छ ।” माघमा गाउने गीत र नाच लाई मघौटा नाच भनिएपनि यसमा विविधता रहेको हुन्छ ।
थारु समुदायमा ‘माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने थारु कल्याणकारी सभा दाङका अध्यक्ष अशोक चौधरी बताउँछन् । पुस महिनामा तयारी गरेर माघमा रमाइलो गर्ने गरेको उनकोे भनाइ छ “माघ मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ ।
माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपाती लगाएतका अन्य व्यवहारहरूको नविकरण गरिन्छ” चौधरीले भने ।