© 2026
नेपाल भारत खुल्ला सीमाका कारण तस्करी मौलाएको र त्यसकै कारण नेपाली उद्योग र तिनको उत्पादनमाथि प्रभाव परिरहेको गुनासो बारम्बार सुन्नमा आइरहन्छ ।
सरकारले भन्सारलाई कडाइ गर्नुका साथै सशस्त्र र नेपाल प्रहरीले सीमा क्षेत्रमा निगरानी गरेको कुरा पनि उत्तिकै आइरहन्छ तर तस्करी भने रोकिएको छैन, बरु यो नियमित प्रक्रिया जस्तैगरि झनै बढेको देखिन्छ ।
वर्षौँदेखि सीमावर्ती नेपालका उद्योगी व्यवसायीले खुला सीमाको कारण नेपाली बजार सुक्दै गएको गुनासो गर्दै आएका छन् । अहिले केही हदसम्म उनीहरूको माग सम्बोधन भएको छ ।
किनभने सरकारले पनि राजस्व सङ्कलनमा असर पुगेको भन्दै अवैध तस्करी तथा चोरी पैठारी नियन्त्रण गर्न प्रहरी प्रशासनलाई दबाब दिँदै आएको छ । भन्सारमा कडाइ हुँदा मात्रै पनि सरकारको राजस्वमा १० प्रतिशतको तलमाथि हुन्छ ।
तसर्थ सरकारको प्रयास एक हदसम्म राम्रो छ तर यता अवैध तस्करी भने मौलाएकै छ । प्रहरीले अवैध बस्तुको आयातमा नियन्त्रण गरि संलग्नमाथि कारबाही गर्दै आएको दाबी गरेको छ । तर पनि दिनहुँ तस्करीका सामान प्रहरीले बरामद गर्दै आएको छ ।
त्यसो त प्रहरीमाथि करोडको सामान विना भन्सार पास गर्दा हजारको सामान बरामद गरेको देखाउने गरेको आरोप लाग्दै आएको छ । वास्तवमा झिटी गुन्टामा दुईचार किलो चिनी, मरमसला लैजानेलाई प्रहरीले दुःख दिने गरेको तर ट्रकका ट्रक मालसामान पास हुँदा मौन रहने गरेको प्रहरी प्रशासनमाथि वर्षौँदेखि लाग्दै आएको आरोप हो ।
यो आरोपमा कति सत्यता छ, प्रहरी प्रशासनलाई थाहा होला तर सत्य के हो भने दुई चार सयको सामान ल्याउनेलाई झोला खोतलेर दुःख दिने गरेको हामी सवैले देखे भोगेको कुरा हो ।
प्रहरीले हरेक दिन अवैध सामान बरामद गरेको सूचना सार्वजनिक गर्छ तर एकैपटक लाखौ बराबरको माल तस्करी हुने गरेको कहिल्यै देखिदैन । प्रहरीले तस्करी नियन्त्रण गरेको दाबी गर्छ तर तस्करी नियन्त्रणले अर्थतन्त्रमा पुगेको प्रभाव कहिल्यै सर्वेक्षण गरिदैन ।
प्रहरीको दाबी बिपरित सीमावर्ती क्षेत्रका व्यवसायीले नेपाली बजार गुल्जार हुन नसकेको गुनासो गर्दै आएका छन् । खुला सीमाना भएको कारण छिमेकी भारतको त कुरै छाडौं, नेपाल तेस्रो मुलुकका कतिपय अपराधीहरूको आश्रयस्थल बन्दै आएको विगतका धेरै घटनाहरू साक्षी छन् ।
हामीकहाँ हुने अपराधहरूमा लागूऔषध, विदेशी मुद्रा, बहुमूल्य धातु, लोपोन्मुख जीव एवं वन्यजन्तुका अंगहरूको तस्करी आदि प्रमुख छन् । आपराधिक गिरोहको प्रभावमा परी नेपालीहरूसमेत विभिन्न किसिमका आपराधिक कार्यमा संलग्न हुँदै आएका छन् ।
नेपालीको संलग्नतामा हुने आपराधिक कार्यमा बहुमूल्य धातु सुनको तस्करी प्रमुख छ । सुन तस्करी हाम्रा लागि नयाँ र नौलो विषय होइन । यो निकै अघिदेखि हुँदै आएको हो तर त्यस्ता विषयमा सोधखोज, अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने काम भएन, बरु प्रायः सबैले उन्मुक्ति पाए ।
निश्चय नै अपराधीले आफ्नो अपराध कर्मको सफलताका लागि विभिन्न उपाय अपनाउँछ । सोझासिधा जनता जसले दुई किलो चिनी र चियापत्ती अनि बनियान किन्न दुईपैसा सस्तो हुन्छ कि भन्ने आशमा भारतको सीमावर्ती बजार जान्छन, उनीहरूलाई रोकेर के गर्नु ? करोडौं मूल्यको बस्तुहरू निर्वाध तस्करी भैरहेको छ ।
अहिले भन्सारमा कडाइ भएपछि खुला सीमाको प्रयोग गर्दै तस्करी गर्नेहरू मौलाउँदै गएका छन । सानातिना उपभोक्ताबाट भन्सार असूली गर्ने तर अर्कोतिर करोडौं मूल्यका तस्करीका सामान छोड्ने काम हुनु अस्वाभाविक होइन, नियमित प्रक्रिया जस्तै हो ।
अतः सरकारले अव भन्सारलाई कडाइ गर्नेतर्फ ध्यान देओस । तस्करी नियन्त्रणको प्रभावकारी उपाय र संयन्त्रको विकास गरोस् । भन्सारमा दुई चार किलो सामानमा कडाइ गर्ने तर तस्करीमा रजगज गर्ने वर्षौँदेखि चल्दै आएको बेथिती अन्त्य होस्