© 2026
काठमाडौं, २३ पुस ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै अवस्थामा पनि पार्टी एकता कायम राख्ने बताएका छन् । उनी साँच्चिकै अप्ठेरो अवस्था आएमा आफूले विष पिएर भए पनि एकता जोगाउने तयारीमा रहेको स्पष्ट पार्दै भनेका हुन् ।
कांग्रेस नेता डा. चन्द्र भण्डारी र डा. सुनील शर्मासँगको संवादको क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।
“तपाईंहरूलाई साक्षी राखेर देशभरका कार्यकर्ता र शुभचिन्तकलाई आश्वस्त बनाउन चाहन्छु, पार्टी फुट्दैन । कसैले चाहेर पनि पार्टी फुट्दैन,” उनले भनेका छन्, “साँच्चिकै अप्ठेरो अवस्था आयो भने त बरु विष पिउँछु नि म । बरु आफूले विष पिएर भए पनि यसको एकता जोगाइराख्नेछु।”
थापाले जेनजी आन्दोलनपछिका परिस्थितिमा नौजवानहरूले पार्टीमाथि उठाइरहेका प्रश्नहरूलाई अझै चित्तबुझ्दो जवाफ दिन नसकेको बताए ।
“हाम्रो प्रयास भनेको पार्टीलाई सान्दर्भिक बनाइराख्ने हो । नौजवानका भावनालाई सम्बोधन नगर्ने हो भने पार्टी मृत बन्छ । त्यसैले जीवन्त पार्टी बनाउन खोजेका हौं,” उनले भने ।
विघटित प्रतिनिधिसभाका सदस्यसमेत रहेका तीन नेताबीच पार्टीको आन्तरिक जीवनबारे छलफल भएको थियो । डा. भण्डारीले भने, “नेपाली कांग्रेसलाई संसारभरका नेपाली जनताले चासो र चिन्ताका साथ हेरिरहेका छन्, त्यसैले एकताको सन्देश दिन जरुरी छ ।”
थापाले जेनजी आन्दोलनपछि पनि कार्यकर्ताहरू निराश भएको र नेता परिवर्तन नभएको भन्दै, जनतालाई सन्देश दिनुपर्ने बताएका छन् ।
“जनतालाई सन्देश दिनुपर्नेछ, पार्टी हाम्रो हो । देश हाम्रो हो । जनता हाम्रा हुन् । प्रजातन्त्र हामीले ल्याएका हौं, संविधान हामीले बनाएका हौं । यसको संरक्षण र सुधारका लागि हामी राम्रो पार्टी बनाउँछौं भन्ने सन्देश दिनुपर्छ,” उनले भने ।