© 2026
लमही। दाङको घोराहीस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा जग्गाधनी श्रेस्ता कायम तथा अद्यावधिक सेवामा देखिएको अनियमितताले सेवाग्राहीलाई हैरान बनाएको छ।
यही समस्याविरुद्ध घोराहीका सेवाग्राहीले मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आपत्ति जनाएका छन्।
ज्ञापनपत्रमा मालपोत कार्यालयमार्फत प्रवाह हुने सेवा पारदर्शी, छरितो र सेवाग्राहीमैत्री हुनुपर्ने माग गरिएको छ।
सेवाप्रवाह चुस्त भएको दाबी गरेपनि व्यवहारमा भने सेवा प्रक्रिया त्यस्तो नदेखिएको नागरिकहरूको गुनासो छ। सेवाग्राही स्वयं कार्यालयमा उपस्थित भई निवेदन दिंदा ३–४ दिनसम्म समय लाग्ने, तर लेखापढी कानून व्यवसायीमार्फत निश्चित रकम बुझाएपछि केही घण्टामै काम सम्पन्न हुने अवस्थाले सेवा प्रवाहमा प्रश्न उठाएको छ।
एउटै सेवा प्रक्रियामा फरक–फरक व्यवहार भएको भन्दै सेवाग्राहीले प्रश्न उठाएका छन्। सरकारी सेवा सबैका लागि समान हुनुपर्ने भएपनि पहुँच र आर्थिक हैसियतका आधारमा सेवा छिटो वा ढिलो हुने अवस्था देखिएको आरोप सेवाग्राहीको छ। यसले समानता र निष्पक्षताको सिद्धान्त कमजोर बनाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
विशेषगरी आर्थिक रूपमा कमजोर सेवाग्राहीका लागि अतिरिक्त खर्च व्यहोर्न नसक्दा सेवा लिन कठिनाइ हुने अवस्था सिर्जना भएको जनाइएको छ। यसले सार्वजनिक निकायप्रति जनविश्वासमा नकारात्मक असर पारिरहेको सेवाग्राहीको भनाइ छ।
सेवाग्राहीले लेखापढी व्यवसायीको भूमिका, सीमा र कार्यविधि स्पष्ट गरी सार्वजनिक गर्न माग गरेका छन्।
जग्गाधनी श्रेस्ता कायम र अद्यावधिक जस्तो आधारभूत सेवामा बेथिति अन्त्य, प्रक्रिया सरल र पारदर्शी बनाउनुपर्ने र सबै सेवाग्राहीले समान व्यवहारको अनुभूति गर्न पाउनुपर्ने भन्दै सो ज्ञापनपत्र बुझाइएको दाङ जिल्ला उद्योग वाणिज्य संघ घोराहीका सचिव विकास वलीले बताए।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र मालपोत कार्यालय घोराहीका मालपोत अधिकृत कृष्णप्रसाद पौडेललाई ज्ञापन पत्र बुझाइएको हो।
ज्ञापनपत्र बुझ्दै उनीहरूले उठाइएका विषयप्रति ध्यानाकर्षण भएको र सेवा प्रवाहमा कुनै पनि किसिमको कमी–कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।