© २०२३
बर्दघाट, २२ पुस ।
उद्योग व्यापार सङ्घ, बर्दघाटको आयोजनामा प्रथम बर्दघाट एक्सपो २०८२ को आयोजना हुने भएको छ ।
सङ्घले पत्रकार सम्मेलन मार्फत गरि एक्सपो आयोजनाको बारेमा विस्तृत जानकारी दिएको हो । आगामी माघ १३ गतेदेखि माघ २५ गते सम्म बर्दघाट नगरपालिकाको हरियाली नगर स्थित बर्दघाट मण्डपमा एक्सपो आयोजना गरिने सङ्घका अध्यक्ष एवम् एक्सपो मूल समिति संयोजक राजु न्यौपानेले जानकारी दिए ।
१३ दिनसम्म सञ्चालन हुने एक्सपोमा स्थानीय कृषि उपज, महिला उद्यमीका उत्पादन, घरेलु उद्योगका सामाग्री र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय उत्पादनहरू प्रदर्शनीमा राखिने संयोजक न्यौपानेले बताए ।
एक्सपोमा विभिन्न व्यवसायीक स्टल, भेषभुषा संस्कृति झल्कने स्टल, विभिन्न खानाका परिकार, बाल उद्यान, र अन्य मनोरञ्जनको व्यवस्था समेत हुनेछ । स्थानीय उद्योग र व्यापार, दिगो विकासको आधार भन्ने मूल नारा सहित आयोजित एक्सपोले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने आयोजक समिति सह संयोजक दिनेश न्यौपानेले बताए ।
सह संयोजक न्यौपानेले एक्सपोमा विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलहरूको अवलोकनको व्यवस्था समेत मिलाएको र एक्सपोलाई करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ७ करोड रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा रहेको बताए ।
प्रथम बर्दघाट एक्सपो उद्योग व्यापार सङ्घको आयोजना भएता पनि सबै बर्दघाटबासीहरुको समेत अपनत्व रहनुपर्ने र एक्सपो सफल सम्पन्न पार्न सम्पूर्ण नगर वासीको महत्त्वपूर्ण भूमिका रहने एक्सपो प्रवक्ता नारायण भण्डारीले बताए । सबैको अपनत्वको लागि १६ वटा वडाको १६ वटै स्टल रहने र उक्त स्टलमा वडाको विशेष उत्पादन प्रदर्शनीमा राखिने भण्डारीले बताए ।
पछिल्लो समय निकै लोकप्रिय हुँदै गइरहेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमध्ये कन्टेन्ट क्रियटरहरुलाई ध्यानमा राख्दै एक्सपो सम्बन्धी उत्कृष्ट कन्टेन्ट क्रियट गर्ने एक जनालाई १० हजार रुपैयाँ पुरस्कार सहित निःशुल्क मेला अवलोकनको व्यवस्था गरिएको एक्सपोका सांस्कृतिक कार्यक्रम एवम् सेमिनार संयोजक मोहन सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार अन्यत्रका महोत्सव/ एक्सपो भन्दा न्यून टिकट दर कायम गरी अधिकतम अवलोकनकर्ताहरूलाई एक्सपो अवलोकनको लागि सहज बनाइएको उनको भनाइ छ । साधारणतर्फ रु ८०, विद्यार्थीका लागि रु ६०, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
एक्सपो ले स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनेमा सङ्घ विश्वस्त रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।