Butwal Today

निर्वाचनप्रतिको बढ्दो उत्साह 

२२ पुष २०८२, मंगलवार
अ+
अ-

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि विभिन्न राजनैतिक दलहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनैतिक दलहरूले करिब करिब उम्मेदवार सिफारिस टुङ्गो लगाइसकेका छन् । दलहरूमा देखिएको निर्वाचनप्रतिको उत्साहले अव फागुन २१ गते नै निर्वाचन हुन्छ भन्ने आधार तयार भएको छ ।

दलहरूको उम्मेदवारी सिफारिसले देशै भरी उत्साह थपेको छ । उम्मेदवारी सिफारिसमा देखिएको उत्साहले मतदाताहरू निर्वाचनमार्फत आफ्ना प्रतिनिधि छान्न व्यग्र प्रतीक्षामा छन् भन्ने पुष्टि गरेको छ ।

आगामी पाँच वर्षका लागि देशको शासन चलाउने प्रतिनिधि छान्न नेपाली जनता उत्साहित भएको कुरा यो उम्मेदवार सिफारिसले स्पष्ट गरेको छ । उता सरकार पनि निर्वाचन जसरी पनि गराउने एकसूत्रीय नीतिमा अडिग देखिएको छ ।

दलहरूमा देखिएको उत्साहले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न हुने कुराको सुनिश्चित गरेको छ । उम्मेदवारी सिफारिसमा भैरहेको सौहार्दताले निर्वाचनको वातावरण तयार भएको महसुस भएको छ ।

जेहोस् निर्वाचन हुन्छ कि हुन्न भन्ने आशंकावीच सरकारले निर्वाचनको आधार तयार गरेर निर्धारित मितिमै निर्वाचन गराउने जुन प्रतिवद्धता गरेको छ त्यसले देश सही ‘ट्रयाक’ मा छ भन्ने सुनिश्चित पनि गरेको छ भन्दा अत्युक्ति हुँदैन ।

धेरै दलहरूले उम्मेदवार सिफारिसको टुङ्गो लगाइसकेका छन् । यसले गर्दा आम नेपाली जनता तथा मतदाताहरूमा उत्साह देखिएको छ । अव विगतको समीक्षा गर्दै नयाँ सरकार राम्रो सरकार वनाउने विषयमा मतदाताहरू सचेत र चनाखो बन्नुपर्ने अवस्था आएको छ ।

नेपाली जनताका सामु फेरी एकपटक विवेक प्रयोग गर्ने अवसर आएको छ । त्यो विवेकको सही प्रयोगले नेपाल आगामी पाँच बर्षभित्रमा विकासको एक चरणमा पुग्नेछ । अर्कोतर्फ उम्मेदवारी मनोनयनले वास्तवमा अव चुनाव हुने निश्चित भएको भन्दै मतदाता समेत थप उत्साहित वनेका छन् ।

अव फागुन २१ को चुनावलाई जसरी पनि सफल बनाउने कुरामा सरकारसंगै स्वयं दलहरू पनि जिम्मेवारी बोधका साथ अघि बढ्नु जरुरी छ । अवको निर्वाचनलाई कोही कसैले अवरोध गर्न सक्दैन भन्ने सन्देश सरकारले पनि दिनु आवश्यक छ ।

यद्यपि ६ वटा कम्युनिष्ट घटकले यो निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् । यो दुर्भाग्यपूर्ण छ । नेपालका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको अर्को विकल्प हुन सक्दैन ।

यो व्यवस्थामा कहिँकतै कमजोरी होला तर यसलाई राजनैतिक दलहरूको सहमतिमै सुधार गर्न सकिन्छ । सुधारको गुञ्जाईसको बाटो नगैकन अर्को बाटो समात्नु राम्रो होइन । नेपाली जनताले तथा जेनजी युवाले चाहेको र खोजेको परिवर्तन पनि यही हो । तसर्थ निर्वाचनको विरोधमा रहेका दलहरू अझैपनि समय छ उनीहरू निर्वाचनमा आउनै पर्दछ ।

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नेतर्फ निर्वाचनमा भाग नलिने घोषणा गरेका दलहरूको भूमिका बिथोल्ने भन्दा पनि सकारात्मक होस् । जेनजी युवाहरूले समेत निर्वाचनमै जानुपर्ने र त्यसबाट मुलुकलाई नयाँ निकास दिनुपर्ने धारणा राखिरहेका छन् ।

यद्यपि जेनजीबीचमा पनि धेरै फरक बिचार छ । तर, पराजयको भयले निर्वाचनमा प्रतिष्पर्धा नगर्ने मनसाय हो भने ६ वटा कम्युनिष्ट घटकले गरेको निर्णय होइन । कम्तीमा आफ्नो दलप्रतिको जनताको धारणा बुझ्न पनि निर्वाचन अपरिहार्य आवश्यकता हो ।

तसर्थ अहिलेसम्म जे भयो त्यसको समिक्षा गर्दै आगामी दिनमा निर्वाचनमा भाग लिने वातावरण ती दलहरूले पनि तयार गर्नुपर्दछ । अहिले जनतामा निर्वाचनको लहर सिर्जना भएको छ । अव निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने अभिभारा सरकारको काँधमा आएको छ ।

सुशीला कार्की नेतृत्वको सरकारले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा सवैको सहयोग र साथ लिएर अघि बढ्नु जरुरी छ ।