Butwal Today

नागरिकता प्राप्ति र नाबालक परिचयपत्र वितरणको प्रक्रियामा परिवर्तन

२२ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ। सरकारले ‘नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२’ जारी गर्दै नागरिकता प्राप्ति र नाबालक परिचयपत्र वितरणको प्रक्रियामा परिवर्तन गरेको छ।

गृह मन्त्रालयले पुस २१ गते सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै संशोधित नियमावली तत्काल लागू भएको जनाएको छ।

संशोधित नियमावलीले विशेष गरी बाबुको पहिचान हुन नसकेका व्यक्ति, अनाथ बालबालिका र नाबालक परिचयपत्र लिने प्रक्रियालाई सहज र व्यवस्थित बनाउने लक्ष्य राखेको छ।

नयाँ व्यवस्था अनुसार बाबुको पहिचान हुन नसकेको व्यक्तिले नागरिकता टोली वा प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची-४ क बमोजिमको ढाँचामा स्वघोषणा गर्नुपर्नेछ।

यदि निवेदन दिँदाका बखत आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नभएको अवस्था भएमा निवेदकले चिकित्सकको सिफारिससहित स्वघोषणा गरी नागरिकता प्राप्त गर्न सक्नेछन्।

१६ वर्ष उमेर पूरा नभएका बालबालिकाका लागि दिइने ‘नाबालक परिचयपत्र’का लागि नयाँ अनुसूची र प्रक्रिया तय गरेको छ। अब नाबालक परिचयपत्र लिन जन्म दर्ता प्रमाणपत्र, बाबु वा आमाको नागरिकता र स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ। यस्तो परिचयपत्र बालक १६ वर्ष पुगेपछि स्वतः रद्द हुने र त्यसपछि उसले नागरिकता लिनुपर्नेछ।

वैवाहिक अङ्गीकृत नागरिकता लिन चाहने विदेशी महिला वा बाबुको नागरिकताको आधारमा नागरिकता लिन चाहनेले आफूले विदेशी मुलुकको नागरिकता नलिएको भनी स्वघोषणा (अनुसूची-७क) गर्नुपर्नेछ। साथै, विदेशी मुलुकको नागरिक भए भिसाको म्याद कायम रहेको निस्सा समेत बुझाउनुपर्ने प्रावधान थपिएको छ।