Butwal Today

रास्वपा र नाउपा पूर्व पदाधिकारीबीच ९ बुँदे समायोजन सहमति

२१ पुष २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व पदाधिकारी तथा थरुहट/थारुवान अभियन्ताबीच समायोजन भएको छ ।

सोमबार राष्ट्रिय सभा गृहमा एकता समायोजन आयोजना गरी ९ बुँदे सहमति पत्र सार्वजनिक गरिएको हो ।

भदौ २३ र २४ को जेनजी आन्दोलन लगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनका शहीद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै, समान अठोट बोकेका शक्तिहरूको सहकार्य मार्फत राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्न रास्वपा र नाउपाका पूर्व पदाधिकारीबीच सहमति भएको बताइएको छ ।

सहमति पत्रमा सबै नेपालीको समतामूलक उन्नति प्रति कटिबद्ध सामाजिक न्याय सहितको प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी शक्तिहरू मिलेर नयाँ राजनीतिक शक्ति स्थापना गर्नु अपरिहार्य रहेको स्पष्ट पारेको छ ।

सहमति पत्रमा रास्वपाबाट उपसभापति डीपी अर्याल, थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारु, सुरेन्द्र चौधरी, र नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले हस्ताक्षर गरेका छन् ।