© 2026
अर्घाखाँची, २० पुस ।
अर्घाखाँचीको सन्धिखर्कमा सातौँ महोत्सव एवं, कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला हुने भएको छ ।
चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा पुस २७ गतेदेखि माघ ११ गतेसम्म ऐतिहासिक धार्मिक सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्नुको साथै कृषि उपज, हस्तकला, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारसँग जोड्ने मूल उद्देश्यले महोत्सव सञ्चालन गर्न थालिएको हो ।
महोत्सवमा ३ सय ५० स्टल रहने छ । करिब ५ करोडको कारोबार हुने अपेक्षा गरिएको चेम्बर आफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले बताए ।
महोत्सव सफल पार्न १०१ सदस्यीय मेला मूल समिति गठन गरिएको छ । महोत्सवमा टिकट शुल्क ९०, विद्यार्थीलाई ५० र ज्येष्ठ नागरिकलाई निःशुल्क हुने सचिव प्रेम थापाले जानकारी दिए । ‘महोत्सवले मेलामा कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी गरिनेछ भने विविध सांस्कृतिक कार्यक्रम समेत हुने सचिव थापाको भनाइ छ ।
अर्घाखाँची चेम्बर आफ कमर्सको आयोजना, उद्योग वाणिज्य सङ्घ र होटल व्यवसायी सङ्घको सह आयोजना, सन्धिखर्क नगरपालिकाको संरक्षकत्वमा हुने महोत्सवको व्यवस्थापक राधा कृष्ण एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि रहेको छ ।
महोत्सवको मुख्य आकर्षकको रूपमा लन्डन ब्रिज, जलपरी सहित कृषि उपज, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री तथा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारको प्रस्तुति रहेका छन् ।