© 2026
नेपालगन्ज, २० पुस ।
हुरी चले पनि जीवनको गीत गुनगुनाइरहने,
झरी परे पनि यात्राको गान सुनाइरहने,
आफ्नै तरङ्गबाट भागेर कहिल्यै नहिँड्ने,
मर्न तयार हुने, तर माटो कहिल्यै नछोड्ने—
एक दिन रुख बन्ने सपना बोकेका शब्दहरू
जब कवि बिपी अस्तुको स्वरबाट बग्न थाले,
नेपालगन्जमा शनिवार एक हलमा शब्द होइन—अनुभूतिले भरियो ।
नेपालगन्जस्थित वेस्टर्न मार्टको दोस्रो तलामा रहेको हलमा, सेतो तन्ना बिछ्याइएको भुईँमा पलेटी कसेर बसेका थिए—नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिस्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, काठमाडौँबाट संयोगले नेपालगन्ज आइपुगेका कवि नवराज लम्साल, सुर्खेतबाट आएका यसै वर्षका जगदम्बाश्री पुरस्कार विजेता वरिष्ठ सङ्गीतकर्मी प्रेमदेव गिरी र पाँच सय रुपैयाँको टिकट लिएर कविता सुन्न आएका बाँके–बर्दियाका सयौँ साहित्यानुरागीहरू ।
हल खचाखच थियो, तर त्यो भीड थिएन । त्यो शब्दसँग संवाद गर्ने मनहरूको महासङ्गम थियो । अन्तरालद्वारा आयोजित पाश्र्वसंगीतसहितको एकल कविता वाचन कार्यक्रममा कवि बिपी अस्तुले कार्यक्रमको सुरुवातमै भने, “यो मेरो हजुरआमाको समयको प्रेमकथा हो ।”
हार्मोनियम, गिटार र बाँसुरीको मधुर धुनसँगै उनले सुनाए— “हामी त पिरती लाउँथ्यौँ।” शब्दहरू पुराना थिए, तर पीडा आजकै थियो । नेपालगन्जमै पहिलो पटक टिकट लिएर हेर्न–सुन्न पाइने, पाश्र्वसंगीतसहितको एकल कविता वाचन ।
यो कार्यक्रम कविताको मात्र थिएन, यो स्मृति, पीडा, प्रेम र प्रतिरोधको उत्सव थियो । रोजगारीका लागि परदेशिनु पर्ने पीडामाथि लेखिएको कविता ‘नखस्नु’ वाचन गर्दा कवि अस्तु आफैँ रोकिए । उनको स्वर काँपिरहँदा, हलभरि सुक्क–सुक्कको आवाज गुन्जियो ।
त्यो आवाज रुवाइको मात्र थिएन । त्यो आवाज देश छोड्न बाध्य हजारौँ मनको थियो । परदेशिन नसकेका युवाको पीडा बोकेको ‘थुप्रै कारण’, सन्तान बिदेसिएका अभिभावकको मौन वेदनामा डुबेको ‘बिर्सेछौँ’, यी कवितामा दर्शक र श्रोता कविताका पात्र बने ।
ऋग्वैदिक नारी ऋषि वागाम्भृणिलाई बिम्ब बनाएर प्रस्तुत गरिएको कविता ‘वागाम्भृणि’ ले आजका नारीहरूको सङ्घर्ष र साहसलाई जीवित बनायो । श्रोताहरूले भने,— “हामी कविता सुनेनौँ, हामी आफूलाई देख्यौँ ।” ‘आत्म बन्दी’ र ‘गन्तव्य’ सुनिँदा हल शान्त थियो । शान्त, तर गहिरो । तर, ‘डरपोक समय’ मा कवि अस्तुले आफ्नै समयलाई यसरी प्रश्न गरे,—
“म इतिहासकै डरपोक समय,
डर लाग्दा चिच्याएर जयगान गाएँ,
सुरक्षा खोज्दै राक्षसको शरणमा पुगेँ।।।”
वर्तमान समयको कमजोर आत्मा ‘डिप फेक’ मा झल्कियो, ‘प्रेमकल्प’ र ‘दाग’ मा प्रेमको कोमलता बग्यो र पर्यावरण विनाशमाथि लेखिएको चेतावनीपूर्ण कवितामा उनले प्रश्न गरे—
“ए मान्छे,
तैले कहिल्यै आफ्नो डीएनएलाई
सन्चो–बिसन्चो सोधेको छस् रु”
पर्यावरणीय चेतनासँगै ‘बिन्दु’ र नेपालगन्जको एक सीमान्तकृत समुदायको कथा बोकेको ‘अनिदो जीवन’ शब्द मात्रै रहेन— सामूहिक आत्मस्वीकृति बन्यो । कविता सुनेपछि कवि नवराज लम्सालले भावुक हुँदै भने, “बिपीका कवितामा वस्तुगत यथार्थसँगै आत्म गत चिन्तन मिसिएको पाएँ ।
आज हाम्रो आयु एक वर्ष बढाइदिएकोमा धन्यवाद ।” वरिष्ठ सङ्गीतकर्मी प्रेमदेव गिरीले शब्द र सङ्गीतको यस्तो सङ्गमलाई “विरलै र उत्कृष्ट अनुभव” भने । साहित्यकार ऋचा लुइँटेलको अनुभव अझ गहिरो थियो— “कविता सुन्दै जाँदा म आफैँ कविता भएँ ।”
लेखक नरेन्द्रजंग पिटरले भने, “आज कविता नसुन्ने ठानिएका मानिस पनि पूरै समय बसे। अन्तरालले जरुरी काम ग¥यो ।” डेढ दशकदेखि सञ्चार, कला, साहित्य, सङ्गीत, खेलकुद र पर्यावरणमा सक्रिय संस्था अन्तराल ले डेढ दशकपछि पलेटी कसेर सुन्ने कार्यक्रम आयोजना गरेको हो । यसअघि गजल गायन कार्यक्रम गरिसकेको अन्तरालले कवितामा पाश्र्वसंगीतसहितको यो पहिलो प्रस्तुति गरेको हो ।
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह भन्छन्, “एआईले गीत गाउने समयमा कवि र सङ्गीतकर्मीलाई आँखैअगाडि बसेर सुन्न पाउनु अर्थपूर्ण अनुभव हो। यसलाई निरन्तरता दिनेछौँ ।”
बिपी अस्तुलाई पाश्र्वसंगीतमा गायक महेन्द्र सेडाई, तबलामा अनुभव अधिकारी, हमिङ भोकलिस्ट सुरज घिमिरे, गिटारमा रेनिस सेडाई र बाँसुरीमा समराज पोखरेलले साथ दिएका थिए । अब अन्तराल शृङ्खला हरेक महिना निरन्तर हुने तयारीमा जनाएको छ ।
शब्द र सङ्गीतको यो सङ्गम नेपालगन्जका साँझहरूलाई अझ गहिरो बनाउने विश्वास आयोजकको छ ।