Butwal Today

१० वर्ष पछि गढवामा हाटबजार सञ्चालनमा आएपछि किसान उत्साहित

२० पुष २०८२, आइतबार
अ+
अ-

लमही ,२० पुस ।

दाङ देउखुरीको गढवा गाउँपालिकामा दोस्रो पटक कृषि हाटबजार सञ्चालनमा आएसँगै किसानहरू उत्साहित भएका छन् ।

गढवा उद्योग वाणिज्य सङ्घको आयोजना, गढवा गाउँपालिकाको संरक्षकत्व तथा गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजनाको समन्वयमा गढवा कृषि तथा पशु हाट बजार सञ्चालन गरिएको हो ।

गढवा गाउँपालिका ६ गढवा बजारमा निर्माण भएको गढवा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र परिसरमा ( इलाका प्रहरी कार्यालय गढवाको उत्तर तर्फ) सञ्चालित हाटबजारमा करिब ३५ जना किसान तथा स्थानीय व्यापारीहरूले आफ्नो उत्पादन बिक्रीका लागि राखेका स्टलमा राखेर बिक्री गरेका छन् ।

किसान तथा व्यापारीले तरकारी, फलफूल, कपडा, ढकिया, साबुन, हार्पिक, फुलका बेर्ना,खसी, कुखुरा ,च्याउ सुँगुर, खसी बोका लगायतका सामान समेत प्रदर्शन तथा बिक्री गरेका थिए ।

गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले शनिवार हाटबजारको औपचारिक उद्घाटन गर्दै अबदेखि प्रत्येक शनिवार हाटबजार सञ्चालन हुने जानकारी दिए ।

उनले हाटबजारले किसानहरूलाई उत्पादन बिक्री गर्न सहज बनाउने र बिचौलियाको चलखेललाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरे । “हाटबजार सञ्चालन नहुँदा किसानले आफ्नो उत्पादन टोकरीमा राखेर घरघरमा बेच्नुपर्ने गढवा बजारको चोकमा बेच्नु पर्ने बाध्यता थियो । अब, हाटबजारले किसानलाई उत्पादनको उचित मूल्य दिलाउन मद्दत पुर्‍याउनेछ,” अध्यक्ष पोख्रेलले भने ।

त्यसै गरी गढवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओम प्रकाश बस्यालले हाटबजारले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र कृषकहरूलाई थप लगानी गर्न प्रोत्साहन दिने बताए। “हाटबजारले उपभोक्ताहरूलाई गुणस्तरीय र सस्तो उत्पादन उपलब्ध गराउनेछ,” उनले भने हाटबजारको नियमित सञ्चालनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।