गुल्मी, २० पुस ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले निर्भय र अनुकूल वातावरण बने निर्वाचन सामना गर्न पार्टी पूर्ण रूपमा तयार रहेको बताएका छन् । गृह जिल्ला गुल्मीको सदरमुकाम तम्घासमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले सरकारले चुनावको लागि वातावरण बनाउन नसकेको बताए ।
उनले केन्द्रीय महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा र नेतृत्वलाई नयाँ ढङ्गको वैधता दिएको बताएका छन् । महाधिवेशनपछिका घटनाक्रममा सबैभन्दा बढी प्रहार एमालेमाथि भएको बताउँदै उनले पार्टीले तीन महिनामै सङ्गठन सम्हाल्दै प्रत्येक पालिकामा लोकतन्त्र र संविधानको पक्षमा प्रदर्शन गरेको बताए । हाल देखिएको प्रतिकूलता क्षणिक भएको नेता ज्ञवालीको भनाइ छ ।
केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाहरू समावेश हुनु पार्टीभित्र पुस्तान्तरणको स्पष्ट सङ्केत भएको उनले बताए । विभिन्न धारबाट आएका नेता तथा कार्यकर्तालाई हार्दिकतापूर्वक ग्रहण गरिएको भन्दै ज्ञवालीले पार्टीमा क्रियाशीलताको मूल्याङ्कन तथा योगदानको कदर गरिने बताएका छन् ।
चुनावबाट पन्छिने कल्पना एमालेले नगरेको स्पष्ट पार्दै उनले संसद् विघटन असंवैधानिक भएको विषय अदालतमा विचाराधीन रहेको स्मरण गराए । संसद् पुनः स्थापना नै सबैभन्दा छिटो र उपयुक्त बाटो भएको भन्दै ज्ञवालीले सर्वपक्षीय सरकार गठन गरी निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् ।
निर्भरता नै निर्वाचनको मूल मर्म भएको उल्लेख गर्दै उनले हाल उम्मेदवार लक्षित हिंसाका घटनाको जोखिम कायमै रहेको उल्लेख गरे । लोकतन्त्र सङ्कटमा पर्दा प्रमुख राजनीतिक दलहरूबिच न्यूनतम समझदारी र सहकार्य आवश्यक रहेको उनको भनाई छ ।