© २०२३
बुटवल। नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले तोकिएको समयमा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त नभएको बताएका छन्।
बुटवलमा युवाहरुले सञ्चालन गरेको खस्यौली बजारको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले निर्वाचनको तयारी भइरहेको र वातावरण बनिरहेको बताएपनि निर्वाचनका निम्ति गर्नुपर्ने कामहरु नभएको बताए।
उनले भने-‘ तोकिएको समयमा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैनौं तोकिएको समयमा निर्वाचन होस् सबै नागरिकले निर्भयको वातावरणमा भाग लिन सकुन् सबै राजनीतिक दलहरु निर्वाचनमा जान सकुन् भन्ने हो।’
उनले आम नागरिकले स्वतन्त्र र भयरहित वातावरणमा मत दिन पाउने आधार सुनिश्चित हुनुपर्नेतर्फ सरकारले विशेष चासो दिनुपर्ने बताए।
उनले भने-‘अहिले पनि एकातर्फ निर्वाचन हुन्छ भन्ने चर्चा चलिरहेको छ प्रचार पनि भइरहेको छ सामान्य कामहरु भएको पनि देखिन्छ । निर्वाचनका निम्ति गर्नुपर्ने कामहरु हुनुपर्नेमा भएका छैनन्।’
एमालेले सरकारले निर्वाचनको तयारी राम्रोसँग अगाडि बढाओस् भन्ने पक्षमा रहेको बताए। एमाले निर्वाचनबाट नभाग्ने बताउँदै उनले निर्वाचन हुनका लागि अनुकुल परिस्थिति सिर्जना हुनुपर्ने तर्क गरे।
‘निर्वाचन लोकतन्त्रको प्राण हो भन्ने कुरा एमालेलाई राम्रोसँग थाहा छ, हामीले निर्वाचनमा जान्नौं कहिले भनेका छैनौं’-उनले भने।
पत्रकारहरुको प्रश्नमा उनले एमाले महाधिवेशनपछि पार्टीको संगठन सुदृढ गर्नेतर्फ लागिरहेको बताए। मुलुकमा देखिएको संकटबाट निकास दिनका लागि संगठनलाई परिचालन गर्ने काम गरिरहेको उनले बताए।