© २०२३
नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो बाघको आक्रमणमा परेर स्थानीय ६२ वर्षीय मरिचमान भण्डारीको मृत्यु भएको हो।
प्रत्यक्षदर्शीका अनुसार शनिबार दिउँसो करिब साढे १ बजे गाई चराउन गएका बेला बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने ‘बिचार दमार’ जंगलमा पाटेबाघले एक्कासी आक्रमण गरेको थियो।
सँगै गाई चराइरहेका पिमलाल डाँगीका अनुसार बाघले अचानक आक्रमण गर्दा उनीहरू आतंकित बने। “हामी सँगै गाई ग्वाला गएका थियौँ, बाघले एक्कासी आक्रमण गर्यो । हामी चिच्याउँदै कराउँदा पनि बाघले उहाँलाई तानेर लग्यो,” उनले भने।
बाघले आफूहरूलाई पनि आक्रमण गर्न खोजेपछि भागेर ज्यान जोगाउन सफल भएको डाँगीले बताए। घटनाको जानकारी पाएलगत्तै बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्जका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दासहितको टोली घटनास्थल पुगेको छ।
घटनास्थलमा पुगेका एक व्यक्तिका अनुसार बाघले भण्डारीको घाँटी र टाउकोमा आक्रमण गरेको देखिएको छ भने शरीरका अन्य भागमा बाह्य चोट देखिएको छैन।
उक्त जंगल क्षेत्र पूर्व–पश्चिम राजमार्गको सौरी खोलादेखि उत्तरतर्फ पहाडी क्षेत्रमा पर्छ। घटनाले स्थानीय बासिन्दामा त्रास फैलिएको छ भने वन्यजन्तु र मानवबीच बढ्दो द्वन्द्वप्रति पुनः गम्भीर चिन्ता थपिएको छ।