Butwal Today

विद्यार्थीले पढाइसँगै सिके सीप, चाखे स्वाद

१९ पुष २०८२, शनिबार
अ+
अ-

गुल्मी, १९ पुस । 

विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यवहारिक ज्ञानसँग जोड्ने उद्देश्यले गुल्मीको सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना गरिएको छ ।

सदरमुकाम तम्घास स्थित महेन्द्र नमूनामाध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार आयोजित ‘फुड फेस्टिभल’ कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूले सहभागिता रहेको थियो ।

फेस्टिभलमा विद्यार्थीहरूले आफैँ लगानी गरेर तयार पारेका विभिन्न खानाका परिकारहरू बिक्री गरेका छन् । कक्षा ११ का रोशन पाण्डे नेतृत्वको समूहले रसबरी लगायतका परिकार राखेको थियो भने कक्षा ९ का हिमाल पाण्डेले मःम र पकौडा बिक्री गर्दै व्यापारिक अनुभव लिएका छन् ।

कक्षा ५ का सफल गौतमको समूहले चाउमिन फ्राई, मःम र पकौडा बनाउँदै आम्दानीसँगै सीप सिक्न सकिने बताए ।
त्यसै गरी कक्षा ७ का छात्र अञ्जन पाण्डे भान्सामै कफी तयार गरेर प्रतिकप ३५ रुपैयाँमा बिक्री गरेका थिए ।

उनीहरूजस्तै विद्यालयका सबै विद्यार्थी फुड फेस्टिभलमा कुनै न कुनै परिकारहरू बनाएर कार्यक्रममा सहभागिता जनाएका थिए । विद्यार्थीहरू बिहानैदेखि दिनभर खाना बनाउन, स्टलबाट सामग्रीहरू बिक्री गर्न र ग्राहक व्यवस्थापनमा व्यस्त रहेका देखिन्थे ।

कार्यक्रमका संयोजक गिरीप्रसाद खनालका अनुसार विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक सीप सिकाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

४४ वटा स्टल रहेको फेस्टिभलमा सेल रोटी, खीर, अचार, गुलाबजामुन, पानी पुरी, चटपटे, आलुचप, मःम, पकौडा, फलफूल र ब्रेड रोल लगायतका दर्जनौँ  खानाका परिकारहरू राखिएको थियो ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले फुड फेस्टिभलले विद्यार्थीहरू भित्र रहेको अन्तर्निहित प्रतिभा पहिचान गर्न सहयोग पुगेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पन्थीले यसले विद्यार्थीको चौतर्फी विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले विद्यालयमा गरिने यस्ता प्रकारका कार्यक्रमहरू विद्यार्थीको सिकाइका लागि निकै प्रभावकारी र व्यवहारिक हुने भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी छन् ।

‘फुड फेस्टिभल’ कार्यक्रममा चार सय भन्दा बढी विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता रहेको थियो । फेस्टिभलले आफूहरूमा नयाँ ऊर्जा र हौसला थपिएको भन्दै विद्यार्थी पनि निकै उत्साहित बनेका थिए ।