Butwal Today

‘टोपीलाई राष्ट्रिय पोसाकको मान्यता देऊ’

१८ पुष २०८२, शुक्रबार
अ+
अ-

‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोसाक संरक्षण अभियान’ भन्ने नाराका साथ १३ औँ राष्ट्रिय टोपी दिवस बिहीबार मनाइएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन बिहीबार त्यसै पनि नयाँ वर्षको पहिलो दिन खुसीयालीको दिन हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले विगतका वर्षहरूमा झैँ यो वर्ष पनि विशेष कार्यक्रम सहित राष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउने औपचारिकता पूरा भएको छ ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पुस १७ गतेलाई राष्ट्रिय पोसाक दिवसको रूपमा मनाउन सुरु गरिएको थियो । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरूले पनि नेपाली टोपी लगाउने गर्छन् ।

नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् ।

राष्ट्रिय टोपी दिवस हाम्रो गौरव हो । टोपी दिवसले नेपालको हिमाल, पहाड, मधेस तराई सबैलाई जोडेको छ । आज राष्ट्रिय टोपीको पहिचान पहाड र हिमालमा मात्रै होइन तराई र मधेसको पनि गहना बनेको छ । नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने टोपी लगाउने गरेका छन् ।

यो लहरसँगै पछिल्लो समय नेपालमा टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ । टोपी दिवसले राष्ट्रियता सम्बद्र्धनमा टेवा पु¥याउने विश्वास गरिएको छ । टोपीले नेपालको राष्ट्रियता झल्काएको छ । त्यसो त बिहीबार अङ्ग्रेजी नयाँ वर्षको संयोग पनि परेको छ । नेपालमा टोपीले राष्ट्रिय एकता सुदृढ गर्न सहयोग पु¥याएको छ ।

त्यसैले यो वर्षको टोपी दिवसको नारा पनि सान्दर्भिक छ । टोपी हाम्रो देशको शान, पहिचान हो । हाम्रो राष्ट्रिय पोसाक पनि टोपी हो । इतिहासका अनुसार जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ ।

त्यसपछि टोपीको महत्व अझै बढेको हो । टोपी आज नेपालमा मात्रै होइन नेपाल बाहिर रहेका नेपाली समुदायले समेत लगाउने गर्छन् । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ । हरेक अङ्ग्रेजी नयाँ वर्षको अवसरमा राष्ट्रिय टोपी दिवस मनाउनुले नयाँ वर्षको आगमनको पनि संकेत गर्दछ ।

पुस १५ पछि क्रमशः दिन लामो हुँदै जाने र रात घटदै जाने मान्यता छ । दिन लामो हुँदै गर्दा गर्मी बढ्दै जाने भएकोले गर्मीबाट बचाउन टोपीको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसैले टोपीले हाम्रो स्वास्थ्यको हेरचाह समेत गर्दछ । टाउको दुख्नेहरूले टोपी लगाउने गरेको पनि सर्वविदितै छ ।

त्यहीकारण टोपी हाम्रो सुरक्षा कवच हो । हाम्रो शान र पहिचानमात्रै होइन, स्वास्थ्य सुरक्षाको महत्त्वपूर्ण अंग पनि हो । नेपाल भादगाउँले र ढाका टोपीमा समृद्धमात्र होइन, जातीय र संस्कृति पहिचानका धेरै टोपीको विशेषता भएको मुलुक पनि हो । यसलाई हामीले राष्ट्रिय पर्वको रूपमा मनाउनु जरुरी छ ।

सरकारले दौरा सुरुवाललाई राष्ट्रिय पोसाक घोषणा गरेको छ । राष्ट्रिय पोसाक दौरा सुरुवालको विषयमा कुनै शंका छैन । र, टोपी विनाको दौरा सुरुवाल शोभायमान हुँदैन । नेपाली टोपी सबै नेपालीको साझा पहिचान र एकताको प्रतीक हो ।

नेपाली टोपी राष्ट्रिय पहिचान र स्वाभिमानको परिचायक पनि हो । तसर्थ टोपीको मर्यादा जोगाउनु सबैको दायित्व हो । सरकारले दौरा सुरुवालसँगै टोपीलाई पनि राष्ट्रिय पोसाकको मान्यता देओस् ।