Butwal Today

बैखी माछा जाडोमा बचाउन चुनौती

१८ पुष २०८२, शुक्रबार
अ+
अ-

नवलपरासी, १८ पुस ।

जिल्लाको एकवा मत्स्य रिजर्च प्रालि प्रतापपुर–१ ले नयाँ प्रविधिको जडान गरी माछा जोगाउन सफल भए पनि जाडोबाट माछा जोगाउन चुनौती भएको छ ।

गर्मी याममा सो प्रविधिले काम गरे पनि जाडो महिनामा पानी झन् चिसो बनाइदिँदा माछा बचाउनु चुनौती बनेको सो प्रालिका सञ्चालकले बताएका हुन् । गर्मीमा पानीमा अक्सिजन मिसाउने मेसिन(ब्लोअर) जडान गरी माछा पोखरीलाई सुरक्षित गरिएको बताउँदै आएका उक्त प्रालिका सञ्चालक किसान भवानी प्रसाद यादवले एक साताको जाडोले दुई टन (२ हजार केजी) माछा मरेको देखाए ।

“यसरी एक साताको जाडोले ६ लाख बराबरको माछा गाड्न प¥यो”, उनले भने, “ब्लोअरले पोखरीको पानी चिसो गराउन सहयोग गर्छ, अक्सिजन तँ प्रवाह हुन्छ, तर पानी झन् चिसो भई हाल्दो रहेछ ।” जसले बोसोयुक्त रहेको पँगास (बैखी) माछा धमाधम मर्न थाल्छन् । यसबारे पनि अब अगामी दिनमा अनुसन्धान गर्न आवश्यक देखिएको उनले सुनाए ।

पोखरीमा इरेटर चलायो भने वायुमण्डलको चिसो पानीमा झन् प्रवाह हुने र मिसिने हुँदा पानीमा चिसोपना बढ्ने हुन्छ । “गहिरो पानीमा अक्सिजन र प्रकाशको समस्या हुन्छ”, उनले भने,“तर पानीमा अक्सिजन र प्रकाशका वैकल्पिक व्यवस्थापन गर्न सकिन्छ ।”

तर कम गहिरो पोखरीको तापक्रम वृद्धि भयो भन्ने तापमान नियन्त्रण गर्न जटिल छ । त्यसको एउटा मात्र विकल्प पोखरी गहिरो हुनु पर्छ । यसले कम जग्गामा गहिराई वृद्धि गरी आयतन वृद्धि हुन्छ ।  १८ फिट गहिरो पोखरी निर्माण गरिएको जनाउँदै उनले यसले माछाका लागि सुरक्षित वासस्थान बनेको बताए ।

तर अक्सिजन र प्रकाशको थप व्यवस्थापन गर्न आवश्यक हुन्छ । अक्सिजन र प्रकाशको व्यवस्थापनमा यो ब्लोअर वरदान बनेको उनको भनाइ छ । पोखरीमा अहिले नयाँ नयाँ प्रविधि एरिएटर, फाउन्टेन एरिएटर समेत जडान गरिएको उनले देखाए ।

सरकारले यी नयाँ प्रविधिमा माछा कृषकलाई सहयोग गर्न अनुरोध गर्दै भने,“सरकारी अनुसन्धान फितलो नै छ, अनुदान सहयोग पनि परम्परागत नै छ । यसले भारतीय माछासँग प्रतिस्पर्धा गर्न नेपाली किसानलाई चुनौती नै भएको जनाए ।”

गत वर्षको अनुभव सँगाल्दै व्यवस्थित गरी माछा पालन क्षेत्रफल बिस्तार गरेको उनले जानकारी गराएका थिए । उन्नत प्रजातिका माछाले राम्रो आम्दानी गर्न सक्ने अघिल्लो वर्षको सिकाइले अहिले माछा क्षेत्रफल १६ बिघामा विस्तार गर्दै पोखरीका लागि आवश्यक व्यवस्थित पूर्वाधार थपेको छ ।

गत वर्ष प्रति कट्ठा पँगास माछा (बैखी) २० टन उत्पादन भयो । अहिले अझै प्रविधि र वैज्ञानिक विधि अपनाइएको छ । नेपालमा भारतको आन्द्र प्रदेशबाट बैखी(पँगास) माछाको माग बढी हुने हुँदा सो माछा नेपालमै उत्पादन गरी नेपाली बजारमा आपूर्ति गर्ने गरी कृषक यादव परीक्षण स्वरूप बैखी माछाको पालन सुरु गरेका थिए ।

“नेपालमा यस्तो माछाको उत्पादन गर्न कठिन छ भन्ने गर्थे”, उनले आफ्नो अनुभव सुनाउँदै भने,“तर गरे पछि नेपालमा पनि सहजै उत्पादन गर्न पनि सकिँदो रहेछ । तर माछाको बजारमा केही माछा व्यापारीको एकाधिकार हुँदा बजारको समस्याले यहाँका कृषि प्राविधिकहरूले माछा किसानलाई पँगास माछाका लागि प्रायः सिफारिस नगर्ने गरेका छन् ।

समस्या उत्पादनको छैन, बजारको पनि छैन, समस्या बजारमा एकाधिकारको छ ।”  पंगास माछा अन्य माछा जस्तै थोरै थोरै मारेर (हार्वेस्ट) गरेर बिक्री गर्न सजिलो छैन । एकै पटक पोखरी भरिकै माछा मार्नुपर्छ, किनभने ती माछा बढी संवेदनशील हुन्छन् ।

पोखरीको एक दुई माछा मारियो भने बचेका माछा दाना नै नखाने हुँदा तौल घटेर उत्पादन जोखिम हुने गरेको सुनाए । त्यसैले ठुलो माछाको माछा एकै पटक खपत गर्नका लागि ठुलो बजार चाहिन्छ । त्यो बजार भने काठमाडौँ, पोखरा, नारायणबाट जस्ता बजार हुन् । तर त्यहाँ भारतबाट तस्करी गरी ल्याइने माछाको हालीमुहाली हुँदा नेपाली किसानले उत्पादन गरेको माछाले प्रवेश नै नपाउने अवस्था छ ।

गत वर्ष पनि नेपालका किसानले उत्पादन गरेका माछा विभिन्न क्षेत्रबाट दबाब हुन थालेपछि खरिद गर्न उनीहरू बाध्य भएका थिए । कालीमाटीमा मात्रै दैनिक २५ मेट्रिक टन माछा खपत हुन्छ, त्यसको ७० प्रतिशत औपचारिक माछा पैठारी भारतबाट हुन्छ, अनौपचारिक तस्करीको माछाको त तथ्याङ्क नै छैन ।

यादवका अनुसार भारतको आन्द्र प्रदेशबाट प्रति केजी ५५ रुपियाँमा माछा ल्याएर नेपाली बजारमा भारतीय माछा छ्यापछ्याप्ती बनाइने र नेपाली किसानले पोखरीमा माछालाई दाना खुवाउँदै बस्ने अवस्था विद्यमान छ । प्रति केजी ५५ (भारु) अर्थात् ८८ रुपियाँको माछा नेपालमा भित्रिँदा प्रति केजी दुई सय भन्दा बढी मूल्यमा बिक्री हुने गर्छ ।

यसले गर्दा अहिले पनि भारतबाट कालीमाटी बजारमा मात्रै दैनिक ५० लाखको माछा खपत हुने गरेको छ । जसमा माछा व्यवसायीलाई दैनिक २८ लाख नाफा हुने अवस्था छ, त्यही भएर माछा व्यवसायीहरूले भारतीय नेपाली किसानको माछा भन्दा भारतीय माछालाई प्राथमिकता दिने गरेका छन् ।

तर भारतबाट आउने माछा तीन महिनासम्मको बासी माछा र केही रसायनबाट संरक्षित गरेर आउने माछा आम उपभोक्ताका लागि अस्वथकर रहेको छ ।